इटहरी - सुनसरीको इटहरी ६ बिपी चोकमा घरमा मध्यरातमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ मा रहेको विष्णुबहादुर खडकाको घरमा ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल रहेकी छिन । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जनाए ।
उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ । कटवाल सुतेको कोठामा आगलागी भएको र छेउको कोठामा छोराबुहारी रहेको चौधरीले बताए ।
उनले भने, ‘छेउको कोठामा छोराबुहारी सुत्दा रहेछन् । त्यो कोठामा आमा एक्लै भएकाले एउटा कोठामा सुतेको अवस्थामा मानवीय क्षति भयो ।’ उक्त कोठामा रहेका लत्ताकपडासहित दराज जलेर क्षति भएको उनको भनाइ छ ।
मध्यरात आगलागी भएका कारण प्रहरीले ढिला गरी मात्रै जानकारी पाए पनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । मृतकका छोरा प्रवेश कटुवालले काठोमा आगो लागिसकेपछि थाहा पाएको बताए । उनले आमाले डिप्रेसनको औषधि सेवन गरिरहनुभएको कारण पनि यस्तो भएको हुन सक्ने बताए ।
प्रतिक्रिया