अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा कोशी स्वर्णनजिक

विहीबार, २९ चैत्र २०८०
चितवन / चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा कोशी स्वर्ण पदकनजिक पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा कर्णालीलाई हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो । भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको खेलमा कोशीले कर्णालीलाई ३-१ को सेटमा हरायो । पहिलो सेट २५-२१ ले हारेको कोशीले दोस्रो सेट २५-१९ ले जित्यो भने तेस्रो सेटमा २५-१६ ले जित्यो । चौथो सेटमा उसले २५-२० को जित हासिल गर्‍यो । अब, कोशीले स्वर्णका लागि गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ । गण्डकी र सुदूरपश्चिमबीचको खेल आजै हुँदै छ । फाइनल खेल शुक्रबार बिहान ८ बजे हुने आयोजक बागमती प्रदेश खेलकुद विकास परिषदले जनाएको छ । कोशी समूह 'ए' को विजेता हुँदै सेमिफाइनल पुगेको हो भने कर्णाली समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। प्रतियोगिता अन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो। पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ। प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ। प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन्। प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन्। हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ। प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार