युरोप पठाउने भन्दै विश्वासमा पारेर बराइलीले धिमालजस्ता धेरै जनालाई ठगी गरेका छन् । पोल्यान्ड, क्यानडा, माल्टा, क्रोएसिया, हंगेरी, बेल्जियमलगायतका मुलुक पठाउने भन्दै प्रतिव्यक्ति ५० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएर बराइली फरार बनेका हुन् । उनले सर्वसाधारणको लगभग १० करोड रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुमान छ । उनीबाट सुनसरी, मोरङ, झापा, इलाम, धनकुटालगायत विभिन्न स्थानका ५ सय भन्दा बढी सर्वसाधारण ठगिएको प्रहरी स्रोतको भनाइ छ ।प्रहरीका अनुसार इटहरीमा ‘ई टु डब्ल्यु’ नामक एजुकेशनल कन्सल्टेन्सीको बोर्ड झुन्ड्याएर उनले ठगी धन्दा चलाएको पाइएको छ ।विदेश जान चाहनेलाई युरोपका विभिन्न मुलुकको लोभ देखाउँदै पैसा उठाएर बराइली भागेपछि पीडितहरूको बिचल्ली भएको छ । ‘पैसा नहुँदा जीवन चलाउन कठिन भएकाले नै कमाउन जान खोजेका थियौँ । ऋण खोजेर भए पनि हतार हतार पैसा बुझाइयो,’ पीडितमध्येका सुदीप पाण्डे भन्छन्, ‘युरोप पठाउने भन्दै हामीसँग पैसा लिएका थिए । अहिले कन्सल्टेन्सी सञ्चालक फरार बनेका छन् ।’ उनले पोल्यान्ड पठाउँछु भनेर बराइलीले आफूसँग १ लाख लिएको बताए । पैसा लिएर पनि भनेको मुलुक नपठाएपछि पीडितहरूको बिल्लिबाठ भएको पाण्डे बताउँछन् ।
आफूलाई सामाजिक अभियन्तासमेत बताउने बराइलीले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि नाम चलेका अन्य नेपाली कलाकारसँग खिचेका फोटा सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए ।
उनले चर्चित कलाकारसँग बसेर खिचेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर भ्रममा पार्दै सर्वसाधारणलाई ठगी गरेको खुल्न आएको छ ।बराइलीले माल्टा पठाइदिने भनेर आफूसँग २ लाख रुपैयाँ लिएको पीडितमध्येका कूलबहादुर मगरले बताए । ‘माल्टा जाने आसमा २ लाख रुपैयाँ ऋण खोजेर बुझाएको हुँ ।
पैसा लिने मान्छे नै फरार भइसकेको पाइयो,’ मगर भन्छन्, ‘विदेश त जान पाइएन । अब त्यो पैसा कसरी उठाउने र साहुको ऋण कहाँबाट तिर्ने भन्ने तनाव थपिएको छ ।’ युरोपको चक्करले बेरोजगारीको पीडामाथि साहुको ऋणको तनावसमेत थपिएको गुनासो उनको छ ।कार्यालय खोलेर ‘ई टु डब्ल्यु’ नामक एजुकेशनल कन्सल्टेन्सीको बोर्ड झुन्ड्याएका बराइलीले ‘ई टु डब्ल्यु’ ह्युमन रिसोर्स प्रा।लि नामक संस्था चलाएका थिए ।
अहिले युरोपका विभिन्न मुलुक अधिकांश नेपालीको रोजाइमा परिरहेको छ । युरोप जानेमा विद्यार्थीको सङ्ख्या पनि धेरै छ । विदेश जान चाहनेलाई युरोप लैजान सहजै सकिन्छ भन्ने देखाउन बराइलीले कार्यालयमा एजुकेशनल कन्सल्टेन्सीको बोर्ड राखेर ठगी धन्दा चलाएको खुलेको हो ।
पीडितहरूका अनुसार उनले उक्त संस्थामा आफ्नै छोरा अमित बराइलीलाई लेखापाल राखेका थिए । केहीले बाबु र केहीले छोरालाई संस्थामै पुगेर रकम बुझाएको पीडितहरू बताउँछन् । तर, अहिले बाबु–छोरा नै फरार बनेपछि विदेशको सपनाले ऋणको पासोमा परेका सर्वसाधारण ठुलो पीडा बेहोर्न बाध्य छन् ।
‘ई टु डब्ल्यु’ ह्युमन रिसोर्स प्रा.लिको शाखा भारतको सिलिगुडी र नेपालकै धनगढी, बुटवल, चितवन, पोखरा, काठमाडौँलगायत विभिन्न स्थानमा रहेको जानकारी पीडितहरूले दिएका छन् ।
नेपालका विभिन्न ठाउँमा शाखा खोलेर कति सर्वसाधारणमाथि ठगी गरियो भन्ने यकिन भइसकेको छैन । संस्थाको मुख्य कार्यालय कतारमा छ । त्यसको मुख्य सञ्चालक राहुल शर्मा हुन् । दुबई, साउदीलगायतका मुलुकमा पनि शाखा रहेको पीडितहरू बताउँछन् ।
इटहरीमा भने वैदेशिक रोजगार विभाग मातहतको कार्यालयले २ साताअघि कार्यालय बन्द गराएको थियो । साथै, व्यवसायीहरूको सङ्गठनले समेत ताला लगाइदिएको थियो । त्यसअघि नै फरार भएका सञ्चालक बराइली अहिलेसम्म पीडितको सम्पर्कमा छैनन् ।
पीडितहरू पैसा बुझाएपछि भिसा आइहाल्छ भन्दै आफूहरूसँग रकम उठाएर बराइली भागेको गुनासो गर्छन् । आफूहरू ठगिएको भन्दै अहिले प्रहरी र स्थानीय प्रशासनसँग गुहार माग्दै पीडितहरू पुगिरहेका छन् ।
बराइलीलाई कारबाही र आफूहरूसँग लिएको पैसा फिर्ता हुनुपर्ने माग गर्दै उनीहरू बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा पुगेका थिए ।
उनीहरूले बराइलीविरुद्ध शुक्रवार जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीमा निवेदन दिएका छन् । ‘हामीले प्रशासनमा उजुरी दिइसकेका छौँ । अब काठमाडौँ जाने तयारी हुँदैछ,’ पीडितमध्येका धिमालले भने, ‘न्याय माग्दै वैदेशिक रोजगार विभाग पुग्छौँ ।
बराइलीलाई कारबाही र रकम फिर्ता हुनुपर्ने माग गर्छौँ ।’ बराइलीले एजुकेसन कन्सल्टेन्सीसमेत चलाइरहेको देखाएका कारण युरोप जान खोज्नेहरू उनीसँग छिटो विश्वासमा परेको बताइन्छ ।
वैदेशिक रोजगार हक हित सङ्घ सुनसरीका अध्यक्ष दुर्गा थापा युरोपका विभिन्न देशसमेत लैजान सक्ने पहुँच भएको भन्दै बराइलीले सर्वसाधारणलाई झुक्क्याएको बताउँछन् ।
‘एजुकेसन कन्सल्टेन्सी चलाएको देखाएर सर्वसाधारणसँग पैसा उठाएको थाहा भएको छ,’ उनले भने, ‘यो सरासर ठगी हो ।’थापाका अनुसार इटहरीका केही कन्सल्टेन्सीले विदेश लैजानेलगायतका विभिन्न बहाना बनाएर पैसा उठाउँदै अहिले पनि ठगी गरिरहेका छन् ।
ठगीको सञ्जाल चलाएर बसेकालाई अनुगमन गरेर कारबाहीको दायरामा ल्याउन ३ महिनाअघि नै श्रम कार्यालय तथा स्थानीय प्रशासनलाई आग्रह गरिसकिएको उनले बताए । तर, पटक पटकको आग्रहलाई सम्बन्धित निकायले सुनुवाइ नगर्दा सर्वसाधारण ठगिने क्रम बढेको थापाको भनाइ छ ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई एजुकेसन कन्सल्टेन्सीले कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउन नपाउने बताउँछन् ।‘कन्सल्टेन्सीको काम विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने, अन्तर्राष्ट्रिय कलेजमा भर्ना प्रक्रियामा सहजीकरण गर्ने र त्यससँग सम्बन्धित जानकारी दिने हो,’ उनले भने, ‘कुनै कन्सल्टेन्सीले रोजगारीका लागि विदेश लैजान्छु भन्यो भने त्यो सबैभन्दा ठुलो ठगी हो ।’विदेश पठाउँछु भनेर एजुकेसन कन्सल्टेन्सीले ठगेका पीडितहरू सम्पर्कमा आएमा कानुनी प्रक्रियाका लागि आफूहरूले पनि सहयोग गर्ने भट्टराई बताउँछन् ।‘कन्सल्टेन्सीबाट ठगिएका सर्वसाधारणहरू सम्पर्कमा आएमा ठगीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागि समन्वय र सहयोग गर्छौँ,’ भट्टराईले भने, ‘त्यस्ता कोही पीडित छन् भने हामीलाई सम्पर्क गर्न लगाइदिए हुन्छ ।’ इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, डिएसपी टेकबहादुर कार्की बराइलीबाट पीडित भएको भनेर ३० जनजाति सम्पर्कमा आएको बताउँछन् । ‘युरोप लैजान्छु भनेर कोहीसँग नगद नै लिएको पाइयो । कोहीलाई भने आफन्तको खातामा पैसा पठाउन लगाएको खुलेको छ,’ उनले भने, ‘एक जनासँग ५० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएको देखिन्छ । त्यसरी धेरै व्यक्तिसँग पैसा लिएको कुरा छ ।’ विदेश लैजाने भनेर दिएको समयमा नलगेपछि र बराइली स्वयं फरार बनेपछि ठगिएको थाहा पाएर पीडितहरू न्यायको खोजीमा भौँतारिँदै प्रहरी कार्यालय आइपुगेको डिएसपी कार्कीले बताए । उनका अनुसार यस विषयमा प्रहरीले आफ्नै ढङ्गले अनुसन्धान गरिरहेको छ । सर्वसाधारणको पैसा झ्वाम पारेर भागेका बराइली भने दुबईमा लुकेर बसेको जानकारी प्रहरीले प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पीडितहरूले बुुुझाएको नामावली.............
प्रतिक्रिया