ओली सरकार माफिया र दलालहरूले नै बनाएको हो : प्रवक्ता ओली

विहीबार, २० भदौ २०८१
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतिहरूले नै बनाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान ओली सरकार माफिया र दलालहरूले बनाएको दाबी गरेका हुन् । उनले भने, ‘यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तत्थ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एक जना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरूको ठुलो हात रहेको बताएका थिए ।’ आगामी मङ्सिर १३ देखि २३ सम्म काठमाडौँमा हुन गइरहेको पार्टीको एकता महाधिवेशनबारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा उनले आफूहरूले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीता लगायतका उपलब्धिहरूलाई सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरे । विश्व परिघटनाबारे बोल्दै ओलीले आफ्नो पार्टी प्यालेस्टाइन् जनताको पक्षमा रहेको स्पष्ट पारे । युक्रेन र रसियाबिचको लडाई साम्राज्यवादी स्वार्थको उपज रहेको उनको दाबी थियो । त्यहाँ देखिनलाई युक्रेन देखिए पनि त्यो वास्तवमा अमेरिका र रसियाबिचकै युद्ध रहेको ओलीको भनाई थियो । पत्रकार सम्मेलनको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा महाधिवेशन प्रचार प्रसार समितिका संयोजक राम सिंह श्रीसले गरेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्य सिताराम तामाङलगायत केन्द्रीय तहका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार