नेपाललाई विश्वसामु चिनाउने कडीको रूपमा खेल क्षेत्रलाई लिनुपर्छ : देउवा

आइतबार, २३ भदौ २०८१
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देशकै इज्जत बढेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका हुन् । उनले भने, ‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु ।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताकासाथ सहयोग गरिरहेको उनले बताए । देउवाले आगामी दिनमा पनि अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाए । सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार