प्रजिअ भट्टराईका अनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटर, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३ सय मिटर र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेका कारण पूर्वघोषित स्थानमा कार्कीले अनशन बस्न नपाउने भएका छन् । आफू मुख्यमन्त्री भएको बेला सुरु गरेका महत्त्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्व मुख्यमन्त्री कार्की अनशन बस्न लागेका हुन् ।
कार्कीले विशिष्ट कृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।
आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् । सरकारले भने कार्कीले भनेका कतिपय कार्यक्रम निरन्तर रहेको र कतिपय सरकारको क्षमताले नभ्याउने भएकोले कटौती गरेको बताउँदै आएको छ ।
प्रतिक्रिया