विराटनगर : कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन् ।
वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरू र विपद व्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषदबाट सम्पादन भएका काम कारबाहीका सम्बन्धमा आइतबार (आज) कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका हुन् ।
मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समयसमयमा प्रदेश सरकारका गतिविधि जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार जानकारी गराइएको हो ।
मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराह क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा कोशी प्रदेशमा राहत, पुनस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
उद्धार, राहत र पुनस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका हुन् ।
प्रतिक्रिया