कृषि विज्ञहरुको निष्कर्ष : कोशीमा ‘एक पालिका, एक सामुदायिक बिउ बैंक’ आवश्यक

बुधबार, ०९ पुस २०८२

विराटनगर : कोशी प्रदेशमा पुस्तौंदेखि प्रयोग हुँदै आएका स्थानीय र रैथाने जातका बालीका बिउ तीव्र रूपमा संकटमा पर्दै गएको भन्दै तिनको संरक्षणका लागि हरेक स्थानीय तहमा सामुदायिक बिउ बैंक अनिवार्य रूपमा स्थापना गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

कृषि विज्ञदेखि स्थानीय तहका प्रतिनिधिसम्मले अब सामुदायिक बिउ बैंकलाई परियोजना मात्र नभएर प्रदेश र स्थानीय सरकारले स्थायी संरचनाका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बुधबार विराटनगरमा सम्पन्न ‘कोशी प्रदेशमा सामुदायिक बिउ बैंकः वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय बिउ लोप हुँदै जानु कृषि समस्या नभई खाद्य सुरक्षा, पोषण, जलवायु अनुकूलन र जैविक विविधतासँग जोडिएको गम्भीर चुनौती भएको बताएका हुन् । 

कार्यक्रम जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) पोखराको सहकार्यमा कृषि विकास निर्देशनालय कोशी प्रदेशसँग समन्वय गरी सामुदायिक बिउ बैंक संघ नेपाल कावासोती नपलपरासीले आयोजना गरेको थियो । कार्यक्रममा कृषि विज्ञ पिताम्बर श्रेष्ठले पछिल्ला वर्षहरूमा आधुनिक बिउ र एकैखाले खेती प्रणालीको दबाब, बसाइँसराइ, प्राकृतिक विपत्ति र बजारमुखी कृषि नीतिका कारण स्थानीय बाली विविधता द्रुत गतिमा हराउँदै गएको बताए । 

सामुदायिक बिउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकारसमेत रहेका श्रेष्ठका अनुसार समुदायस्तरमा संरक्षणप्रतिको चेतनाको कमी, सरकारी कार्यक्रमहरूमा रैथाने बिउलाई प्राथमिकता नदिइनु र संस्थागत संरचनाको अभावले समस्या अझ गहिरिएको छ । ‘सामुदायिक बिउ बैंक भविष्यको खाद्य सुरक्षा र अनुसन्धानको आधार हो । तर, यसलाई अझै पनि सहायक विषयजस्तै हेरिएको छ,’ श्रेष्ठले भने ।

उनले विगतमा गैरसरकारी संस्थाहरूले सामुदायिक बिउ बैंकको क्षेत्रमा उल्लेख्य काम गरे पनि राज्यका तीनै तहबाट साझा स्वामित्व र दीर्घकालीन योजना नबन्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे । संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि नबढे रैथाने बिउ संरक्षण सम्भव नहुने श्रेष्ठको निष्कर्ष थियो ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले प्रदेश सरकारले स्थानीय बिउ संरक्षणलाई क्रमशः प्राथमिकतामा राख्दै आएको बताए । उनले आगामी आर्थिक वर्षदेखि इच्छुक स्थानीय तहसँग सहकार्य गर्दै सामुदायिक बिउ बैंकसम्बन्धी कार्यक्रम नीति तथा कार्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिए । 

‘सबै पालिकामा एकै पटक सम्भव नहुन सक्छ । तर, चरणबद्ध रूपमा अभियान चलाउन सकिन्छ,’ उनले भने । पोखरेलले सरकारी कार्यक्रम र सार्वजनिक समारोहमा स्थानीय उत्पादन प्रयोग गरेर रैथाने बालीको माग बढाउन सकिने उपायसमेत दिए ।

सामुदायिक बिउ बैंक संघ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले कोशी प्रदेशमै सामुदायिक बिउ बैंकलाई मूल प्रवाहमा ल्याउने सम्भावना खोज्न र विस्तारको स्पष्ट मार्ग तय गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार बिउ बैंक किसानका लागि बिउ साटासाट गर्ने थलो मात्र नभई स्थानीय ज्ञान, परम्परा र जैविक विविधता संरक्षण गर्ने केन्द्रका रूपमा विकास हुनुपर्छ ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाश डाँगीले प्रदेशको भौगोलिक विविधता अनुसारका बाली संरक्षण नगरे भविष्यमा कृषि प्रणाली नै जोखिममा पर्ने चेतावनी दिए । उनले सामुदायिक बिउ बैंकलाई स्थानीय तहको नियमित कार्यक्रमसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । 

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत अमृत रेग्मीले कृषि जैविक विविधता संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमहरू तयारीको चरणमा रहेको बताए । राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले राष्ट्रिय जीन बैंक र सामुदायिक बिउ बैंकबीच सहकार्य बढाउनुपर्ने विषयमा प्रस्तुति दिएका थिए ।

अन्तरक्रियामा मोरङ, झापा, संखुवासभा र भोजपुरका सामुदायिक बिउ बैंक प्रतिनिधिहरूले आफ्ना अनुभव साझा गर्दै सीमित स्रोत र जनशक्तिबीच पनि स्थानीय बिउ संरक्षणमा योगदान दिँदै आएको बताए । स्थानीय तहका कृषि शाखा प्रमुख र कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरूले किसानलाई अनुदान, तालिम र प्राविधिक सहयोगमार्फत रैथाने बिउ प्रवर्धन गर्दै आएको जानकारी दिए ।

हाल कोशी प्रदेशमा चारवटा मात्र सामुदायिक बिउ बैंक सञ्चालनमा छन् । मोरङको चारपाते, झापाको शिवगञ्ज, संखुवासभाको तामाफोक र भोजपुरको षडानन्द सामुदायिक बिउ बैंकले प्रदेशको बिउ संरक्षणको जिम्मा बोकेका छन् । 

सहभागीहरूले यी प्रयास पर्याप्त नभएको भन्दै प्रत्येक पालिकामा सामुदायिक बिउ बैंक स्थापना नगरेसम्म रैथाने बिउ संरक्षण अभियान अधुरो रहने निष्कर्ष निकालेका छन् । उनीहरुले कोशी प्रदेशमा ‘एक पालिका, एक सामुदायिक बिउ बैंक’ आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार