भोजपुरमा बजार अनुमगन गर्दा दुई लाखका सामान बरामद

आइतबार, १३ असोज २०८१
भोजपुर : भोजपुरमा बजार अनुगमन सुरु गरिएको छ । भोजपुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिद्धारा गठित टोलीले दुई दिन अनुगमन गरेको हो । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राईले जानकारी दिए । उनले भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्रि स्थल र उपभोग गर्ने स्थल लगायतका ठाउँहरूमा वस्तु सेवा प्रदायक वा बिक्रेताको व्यवसायिक कारोबारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको निरीक्षण गरिएको बताए । अनुगमन टोलीले वडा नं. ३ को बलौटे बजार, वडा नं. ४ को दाँवा बजार, वडा नं. ६ को देउराली बजार, वडा नं. ७ को भोजपुर सदरमुकाम बजार र वडा नं. ९ को पानिट्याङी बजार अनुगमन गरिएको अनुगमन टोलीका संयोजक खगेन्द्र खड्काले जानकारी दिए । अनुगमनको क्रममा दुई लाख एक हजार पाँच सय ८० रुपैयाँ बराबरको खाद्यान्न, औषधी, पेय पदार्थ, कस्मेटिक सामान बरामद गरिएको थियो । विभिन्न ८० वटा होटल, फार्मेसी, किराना पसलहरूमा म्याद गुज्रिएका सामान फेला परेको हो । म्याद गुज्रिएका सामान आइतबार भोजपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र बजार अनुगमन टोलीको संयुक्त रोहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार