विराटनगरमा प्रहरीको रक्तदान, ६८ पिन्ट रगत संकलन

मंगलबार, १५ असोज २०८१
विराटनगर । विराटनगरको महेन्द्र चोकमा प्रहरीले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रहरीले आफ्नो ६९ औं दिवस मनाउँदै छ । दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले रक्तदान कार्यक्रम गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको अध्यक्षतामा विराटनगर महानगरपालिका–९ मा रक्तदान सम्पन्न भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी अविनारायण काफ्ले र प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाललाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । काफ्ले र दाहाल पनि कार्यक्रमका रक्तदाता हुन् । प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको मन्त्री अधिकारीले बताए । ‘रक्तदान, जीवनदान’ भएकाले मानवीय सेवामा समर्पित हुन सबैमा उनले आह्वान गरेका छन् । मन्त्री अधिकारीले रक्तदातालाई प्रशंसापत्र समेत प्रदान गरे । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा नेपाल प्रहरी र सर्वसाधारणले रगत दिएका थिए । ६८ पिन्ट रगत संकलन भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । संकलित रगत रक्तसंचार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायत उपस्थित थिए । डीआईजी खापुङले प्रहरीको रक्तदानका कारण तत्कालको रगत अभाव टर्ने बताए । ‘प्राय रगतको अभाव भइरहेको हुन्छ । प्रहरीले गरेको रक्तदानका कारण केही राहत मिल्छभन्ने अपेक्षा छ,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार