इटहरी । नेकपा (एमाले) सुनसरीले आगामी कात्तिक २९ गते इटहरीमा भव्य मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। जिल्लाका सबै स्थानीय तहका कार्यकर्ताहरूको सहभागितामा हुने उक्त र्यालीलाई पार्टीले ‘जनशक्ति प्रदर्शन र संगठन सुदृढीकरण अभियान’ का रूपमा लिएको छ।
एमाले सुनसरीकी जिल्ला उपसचिव इन्द्रकला राईका अनुसार धरान, इटहरी, इनरुवा, दुहवी, बराहक्षेत्रसहित जिल्लाका १२ वटै स्थानीय तहबाट बिहान ११ बजे एकैसाथ मोटरसाइकल र्याली प्रस्थान हुनेछ। ती सबै र्यालीहरू इटहरी चोकमा पुगेर संयुक्त शक्ति प्रदर्शन गर्नेछन्।
“कात्तिक २९ गते सुनसरी जिल्लाभरिबाट करिब पाँच हजार कार्यकर्ता पार्टीको झण्डासहित इटहरीमा सहभागी हुनेछन्। एमालेको संगठनात्मक एकता, राष्ट्रप्रेम र जनभावनालाई एकजुट रूपमा प्रस्तुत गर्ने हाम्रो उद्देश्य हो ” राईले भनिन् ।
उनका अनुसार र्यालीपश्चात् इटहरीमा कोणसभा आयोजना गरिनेछ, जहाँ पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
एमाले सुनसरीले हालै इनरुवामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठकपछि आगामी गतिविधिलाई सशक्तरूपमा अघि बढाउने रणनीति तयार गरेको जनाएको छ। शक्ति प्रदर्शन इटहरी अभियान त्यसै रणनीतिको प्रारम्भिक चरणको रूपमा लिइएको बताइएको छ।
प्रतिक्रिया