काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान जारी छ । बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।
राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरिसकेका छन् ।
अरु मतदाताले धमाधम मतदान गरिरहेका छन् ।
यसैबीच, राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफू निर्वाचित हुनेमा आशा व्यक्त गरेका छन् ।
मतदानपछि प्रतिक्रिया दिंदै उनले आफू निर्वाचित भए राष्ट्रपतिको मर्यादा पूर्ण रुपमा पालना गर्ने बताए ।
यसैगरी अर्का उम्मेदवार पौडेलले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएका छन् ।
मतदान गरिसकेपछि मतदान स्थलबाट बाहिर निस्किएपछि दुबै उम्मेदवारले एकअर्कालाई विजयको शुभकामना दिएका थिए ।
मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् ।
निर्वाचनमा दुई पूर्वसभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।
प्रतिक्रिया