०४० सालमा पौडेल कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक थिए । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रपुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भएका थिए ।
त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए ।
०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष काम गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो ।
०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए ।
पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म विभिन्न पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् ।।
पौडेलका तीनवटा पुस्तक प्रकाशित छन् । प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका पुस्तक उनका कृति हुन् ।
करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेल प्रधानमन्त्री पदमा १७ पटकको पराजय बनेको इतिहास पनि छ । यो संवैधानिक प्रावधानका कारण पटक पटक प्रधानमन्त्रीका लागि भएको निर्वाचनबाट सिर्जित अवस्था थियो ।
०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो ।
लामो र अथक राजनीतिक सक्रियता रामचन्द्रको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक संघर्षहरुमा उनी संलग्न रहे र पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरे ।
कांग्रेसभित्र नीतिगत वैचारिक चिन्तन गर्न सक्ने नेताका रुपमा मानिएका पौडेल पटक पटक मन्त्री हुँदा कुनै गम्भीर विवादमा मुछिएनन् । भ्रष्टाचारमा नमुछिएका इमान्दार र निष्कलंक छवि भएका नेताका रुपमा चिनिन्छन् ।
पार्टीभित्र च्याउझैं गुट र उपगुट जन्मिँदा पनि रामचन्द्रले आफ्नै गुट बनाएनन् । कतिपयले यसलाई उनको कमजोरीका रुपमा लिन्छन् । पार्टी राजनीति स्वस्थ हुनुपर्छ भन्ने मान्यता राख्नेहरुका लागि गुटबाट टाढा रहनु सकारात्मक कुरा हो । गुटहरुबीचको विवादमा पौडेलको भूमिका समन्वयकारी देखिने गरेको छ ।
उनका केही दुर्बल पक्ष पनि छन् । उनीमाथि लघुताभाषी नेताको आरोप लाग्नेगर्छ । राष्ट्रिय नेता भएर पनि उनको सोच र चिन्तनको दायरा साँघुरो हुने गरेको टिप्पणी आलोचकहरु गर्छन् ।
प्रतिक्रिया