सडक खुलाउन श्रममा जुटिरहेका पॉचथरको फालेलुङ ५ प्राङवुङका नागरिक ।[/caption]
फालेलुङ ६ ओगेम्बाबाट मुवा खोला–लुदिन–खेदोक–प्राङवुङ जोड्ने सडक स्थानीयले पाँच दिन लगाएर सफा गर्दै बिहीबार साँझ प्राङवुङ बजारसम्म पु¥याएका थिए ।
त्यसपछि शुक्रबार बिहानदेखि ट्याक्सी र पिकअप सदरमुकाम झरेर बेलुका केही सामाग्री लिएर प्राङवुङ पुगेका छन् । त्यहाँबाट हातिखेम्बा, टुनिबोटे र स्याधापा जस्ता स्थानमा सामग्री लैजाने अझै सकिएको छैन ।
सिदिनको थोक्पनदेखि धर्मेटार–लुमाङदिन–शिरिषे–सिस्नेटार हुँदै डम्फुचोक जोड्ने बाटो अझै खुलाइएको छैन । यस सडक खण्डमा पर्ने धर्मेटार नजिकैको मुवा खोला पुलको प्राङवुङ साइड बाढीले क्षति पु¥याउनका साथै सडकका विभिन्न स्थानमा पहिरो गएको छ । प्राङवुङ तर्फबाट भने डम्फुचोक–गौतम चौतारो–शिरिषे हुँदै लुमाङदिनसम्म शुक्रबार साँझ स्थानीयले श्रम गरेर बाटो खुलाएको स्थानीय सन्दीप थाम्सुहाङले बताए ।
पुल र सडक मर्मतमा जुटेका स्थानीयले ठूलो पहिरो गएका ठाउँमा स्काभेटर चलाएका थिए ।
तर स्काभेटरमा डिजेल सकिदाँ कहिले फालेलुङ ३ को भञ्ज्याङ त, कहिले वडा नम्बर ७ को सिदिनदेखि बोेकेरै काम चलाइएको स्थानीय अम्बिका नेपालले बताए ।
‘अघिल्ला दिन भञ्ज्याङ र सिदिनबाट बोकेरै काम चलाइयो । सरसफाइ गर्ने स्काभेटर ओखरबोटे पुगेपछि डिजेल सकिएर काम रोकियो । त्यसपछि पुनः सिदिनदेखि ल्याएर काम चलायौं,’ नेपालले भने ।
विजयादशमीको टीका लगाउने साइत नजिकिदैँ जाँदासम्म प्राङवुङका अधिकांश पसलमा खाद्यान्नसहित दसैंका लागि आवश्यक सामाग्री पुग्न नसकेको स्थानीय बताउँछन् ।
प्रतिकूल मौसम, इन्धन अभाव पर्याप्त स्रोत साधनको अभावका बाबजुद पनि स्थानीय बाटो खुलाउन श्रमदानमा जुटेका थिए । फालेलुङ ५ र ६ को सिमानामा बाढीले क्षति पु¥याएको मुवा खोला माथिल्लो पुलमा ढुङ्गा भरेर गाडी तर्ने वातावरण बनाएका थिए ।
यही बाटो शुक्रबार साँझ फिदिमदेखि केही पिकअपले खाद्यान्नसहितका सामाग्री बोक्न थालेपछि सहज भएको स्थानीयको भनाइ छ ।
अब धर्मटार र थोक्पन जोड्ने सिमानाको मुवा खोलामा बिग्रेको तल्लो पुल मर्मत गर्दा थोक्पनतर्फबाट पनि यो बाटो लुमाङदिन पुग्छ ।
‘बाटो बन्यो भने दसैँ मान्न आफन्तहरू सजिलै आइपुग्छन्, खाद्यान्न ढुवानीमा सहजता हुन्छ । नत्र दसैं खल्लो हुन्छ भनेर मरिहत्ते गरेका हौं,’ नेपालले भने ।
प्रतिक्रिया