पत्रकारको सुरक्षाका लागि मधेस प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री सिंह

सोमबार, १५ पुस २०८१
जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । पत्रकारको पेसागत सुरक्षाका लागि रु सात लाखको दुर्घटना बीमा तथा एक लाखको स्वास्थ्य बीमाको व्यवस्था गरिएको उनले जानकारी दिए । जनकपुरधाममा आज आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेश समितिको कार्यालय भवन निर्माण गर्न चालु आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गरिएको बताए । मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले १० दिनभित्रमा नै गुठी विधेयक ल्याउन लागेको उल्लेख गर्दै प्रदेश सरकारले एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्र सडक तथा एक पक्की पुल निर्माण गर्न बोलपत्र आह्वान गर्न लागेको बताए । कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेश सरकारले मधेसी जनताको भावनाअनुसार काम गरिरहेको र प्रदेशमा एक पटक सवारीसाधन दर्ता गरेपछि १५ वर्षसम्म कर नलाग्ने गरी विधेयक पारित गरेको जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरे । निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार