सप्तरी : शपथ लिँदालिँदै पक्राउ परेका वडाध्यक्ष साहविरुद्ध ५७ वर्ष कैद माग

विहीबार, १८ पुस २०८१
सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध ५७ वर्ष कैद सजाय माग गर्दै दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो । बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय माग दाबी गरिएको छ । जसअनुसार उनीवरुद्ध १० वर्षसम्मको कैद मागदाबी गरिएको छ । त्यस्तै सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम थप सजाय पनि माग गरिएको छ । सामूहिक बलात्कारमा थप ५ वर्ष कैद हुने व्यवस्था छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय मागदाबी गरिएको छ । बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय माग दाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय माग दाबी गरिएको छ । साथै अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेको भन्दै मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय मागदाबी गरिएको छ । दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । साहले बेपत्ता पारेको आरोप लागेका नितिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय माग दाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप २ वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ । गत उपननिर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएपछि २० मंसिरमा शपथ लिँदै गर्दा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार