‘प्रतिगामीको पोल्टाबाट लोकतन्त्र फर्काउने प्रयास’

शनिबार, ११ चैत्र २०७९
झापा । नेपाली काँग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले ‘प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन’ लोकतन्त्रवादी दलहरु प्रयासरत रहेको बताएका छन् । नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्वमन्त्री मन्सुरले निर्दलीयतावादी र एकाधिकारवादी चिन्तन बोकेका बाहेक अरु राजनैतिक दलहरु लोकतन्त्रको संस्थागत बिकासका लागि एकजुट हुँदै गएको बताए । नेकपा एमाले सँगको सहकार्य र सहयात्रा बिश्वासिलो र भरपर्दो नभएकै कारण दुई–दुई पटक कम्युनिष्ट गठबन्धन असफल भएर नेपाली काँग्रेसको नेतृत्व र सहभागितामा सरकार बनेर देशले निकास पाएको बताउँदै नेता मन्सुरले काँग्रेस बिना देशले बिकास र निकास नपाउने कुरालाई जनताले अनुभूति गरिसकेको उनले बताए । निष्ठा, त्याग, बलिदान, सत्चरित्र र समर्पण बिनाको राजनीति गर्ने र पैसा कमाउनका लागि राजनीतिलाई माध्यम बनाउनेहरुको अन्त्य दुःखदायी हुने बताउँदै “देश र जनताको सेवा गर्छौं भन्नेहरुको मनमा लोभ र पाप पलाउँदा देश र जनताले सास्ती भोग्नु परेको हो” मन्सुरले भने । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागँँइले चरम आर्थिक मन्दीको मारमा परेका जनतालाई राहत हुने गरी सरकारले नीति कार्यक्रम ल्याउनेतर्फ काँग्रेसको केन्द्रीय नेतृत्वले बिषेश ध्यान पु¥याउनु पर्नेमा जोड दिए । कोशी प्रदेश उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र प्रजातान्त्रिक औषधि ब्यवसायी संघ कोशी प्रदेश संयोजक जीवन खड्कालाई सममान गरिएको थियो । नेपाली काँग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सभापति भोजराज सिटौलाले गरेका थिए । कार्यक्रमको संयोजन र सहजीकरण काँग्रेस झापा जिल्ला सदस्य सरफराज शेख सोनुले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार