बागमती पुलको स्पान भासिँएपछि यात्रामा जोखिम

बुधबार, १६ माघ २०८१
रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत सङ्घ मैत्री सहयोग अन्तर्गत करिब ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमशः पुरानो हुँदै भौतिक संरचनाहरू कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानीय श्रीराम न्यौपानेले बताए । उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो । पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी सञ्चालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ । बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शीघ्र मर्मत गर्नु पर्ने उनको माग छ । सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बिचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जिनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने उनको भनाई छ । सडक डिभिजन कार्यालयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौँलाई पत्र मार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लालकर्णले बताए । उनका अनुसार यस सडक खण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केही भाग अग्लो, केही भाग होचो देखिएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार