इटहरीमा बाहिरियो बलात्कारको घटना : काम लगाइदिने बहानामा साधु भेषधारीले बन्धक बनाएर गरे करणी

विहीबार, १७ माघ २०८१
इटहरी : साधुको छद्नमा इटहरीमा काम लगाइदिने भन्दै जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मोरङ घर भएकी एक किशोरीलाई इटहरीमा काम लगाइदिने भन्दै करणी गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका वडा नं.७ का जागेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा परेको उजुरी र इटहरी प्रहरीको पक्राउ गरिदिनु भन्ने पत्रका आधारमा पक्राउ गरेर इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले प्रदेश खबरसँग भने, ‘इटहरीले पक्राउ गरिदिनु भनेर पत्र पठाएपछि हामीले यहाँबाट पक्राउ गरेर इटहरी पठाएका हौँ ।’ घटना के हो ? पीडित किशोरीका परिवारका अनुसार गत कात्तिक २६ गते धान काट्ने समय थियो । त्यतिकैमा भिनाजु नाता पर्नेले इटहरीमा राम्रो काम लगाइदिने भन्दै इटहरी ल्याए । इटहरी ल्याएपछि छोरीसँग बोल्नै नपाइएको पीडितका बुबाले बताए । उनी भन्छन्, ‘घरबाट जागिरका लागि भनेर लिएर आएको हो । एक हप्ताको तालिम गर्नुपर्छ भनियो । मङ्सिर २ गते र ३ गते बित्दा पनि छोरी घर आइनन् । पछि २ हप्ताको भाका दियो । त्यसपछि डेढ महिनाको भाका पुग्यो । त्यो बेलासम्म उसले (पीडक)भन्ने गर्दथ्यो, अहिले आउँदैन काम गर्दैछ । र, छोरीसँग लामो समयसम्म बोल्न दिइँदैनथ्यो ।’ सप्तरी घर भएपनि इटहरी नै बसेर साधु भेषधारी जागेश्वरले पटकपटक करणी गरेको पीडितको भनाइ छ । उनीमाथि शंका र डरका साथ पीडित परिवारले करिब एक साताअघि इटहरी प्रहरीमा खबर गरेपछि यो घटना बाहिरिएको हो । जागेश्वरले पीडित किशोरीलाई काम लगाइदिने बहानामा बन्धक बनाएर पटकपटक करणी गरेको पीडित परिवारको आरोप छ । पीडित किशोरी भन्छिन्, ‘त्यहाँ बस्ने ठाउँमा ताल्चा मारेर राख्ने गर्दथ्यो । त्यहाँ झाँक्री एउटै थियो । तर, उ बाहिर अरूसँग पनि कुरा गथ्र्यो । यिनीहरूको समूह छ । म सँग अर्को लेडिज पनि थियो । तर त्यसलाई करणी नै गरेको देखिएन । उसलाई भने पूजारी भनेर राखेको थियो ।’ पीडित किशोरीका अनुसार पूजारी बन्नका लागि ट्याटु नहानेको र सिन्दुर नहालेको अर्थात् अविविाहित केटी आवश्यक परेको भनिएको थियो । ‘त्यहाँ बिना ट्याटु र बिना सिन्दुरको केटी चाहियो भनेको थियो,’ प्रदेश खबरसँग उनले भनिन् । पीडित किशोरीले आफ्नो भिनाजुलाई बोलाउन पटकपटक आग्रह गरेपनि नबोलाएको बताइन् । ‘उसको (पीडक जागेश्वर)ले ह्वाट्सएप च्याटमा केटीहरूलाई जनकपुर पठाउने कुरा गरेकोसमेत देखेको थिएँ । भिनाजुले पनि झारफुक गर्ने गरेको हो । जागेश्वरले मान्छेहरूलाई लुगा फुकालेर (नाङ्गै बनाएर) फुक्ने गर्दछ । त्यस्तो गर्न पाइन्छ त ?,’ उनले भनिन् ‘यिनीहरूको टिममध्ये गजेन्द्र, लीला, विवेक, प्रमेश, अञ्जु सबै मिलेको छ ।’ यसरी साधु(झाँक्री) भेषधारी जागेश्वर पक्राउसँगै इलाका प्रहरी कार्यालय इटहरीले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ । प्रहरी स्रोत भन्छ, ‘अहिले बिदाको समय भएकाले शुक्रवार म्याद थप भएपछि घटनाबारे थप अनुसन्धान अगाडि बढ्छ ।’ यसबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले प्रतिवादीलाई सप्तरीबाट पक्राउ गरेर इटहरी ल्याइएको पुष्टि गरे । ‘साधु भेषमा काम लगाइदिने भन्दै इटहरीमा ल्याएर पटकपटक करणी गरेको भन्ने आरोप छ,’ उनले भने, ‘विलो १८’ केस भएकाले संवेदनशील भएर अनुसन्धान गरिरहेका छौँ ।’ खासगरी जागेश्वरले ती किशोरीलाई पूजारी बनाउने भनेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि, यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार