वीपी प्रतिष्ठानमा १८ किलोको ट्युमरको सफल शल्यक्रिया

शुक्रबार, २५ माघ २०८१
धरान :  वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एक ३९ वर्षीय महिलाको डिम्बाशयमा रहेको १८.६ किलो वजन र ५० सेमी आकारको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी निकालिएको छ। उक्त शल्यक्रिया प्रतिष्ठानको गाइनोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा। रमेश श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए। सामान्यतया, डिम्बाशयको ट्युमर महिलाको प्रजनन अङ्गमा रहेका कोशिकाहरू अनियन्त्रित रूपमा वृद्धि हुनुका कारण उत्पन्न हुन्छ। यो ट्युमर क्यान्सररहित, क्यान्सर हुने सम्भावना भएको, वा क्यान्सर भइसकेको अवस्थाका रूपमा देखा पर्न सक्छ। बिरामीको अवस्था बुझ्न प्रत्यक्ष जाँच, रगत परीक्षण, र रेडियोलोजिकल परीक्षणहरू गरिन्छ, जसका आधारमा शल्यक्रियाको आवश्यकताबारे निर्णय लिइन्छ। चार महिनादेखि हिँडडुल गर्न, खाना खान, तथा श्वासप्रश्वासमा कठिनाइ भोग्दै आएकी आर्थिक रूपमा कमजोर मोरङकी ती महिला उपचारको खोजीमा विराटनगर, भरतपुर, पोखरा जस्ता सहरमा पुगेकी थिइन्। तर, आर्थिक अभाव तथा शल्यक्रियाको जटिलताका कारण उपचार सम्भव नभएको हुँदा अन्ततः प्रतिष्ठानमा आएर उपचार गराइन्। बिरामीको आर्थिक अवस्थालाई ध्यानमा राख्दै प्रतिष्ठानका विभागीय प्रमुख प्रा. डा. अचला ठाकुरको सिफारिसमा सम्पूर्ण परीक्षण, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरिएको थियो। यस शल्यक्रियामा डा. श्रेष्ठका साथै प्रा. डा. प्रिथा बस्नेत, डा. सन्तोष कुमार झा, डा. रिचा भट्टराईको सहभागिता रहेको थियो भने एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल र उनकी टिम तथा नर्सिङ टिमका सुजाता राई लगायतका सदस्यहरू संलग्न थिए। शल्यक्रिया पश्चात् बिरामीलाई ९ दिनसम्म निगरानीमा राखेर सकुशल डिस्चार्ज गरिएको थियो। उपचारका लागि महिनौँदेखि भौँतारिएकी ती महिला तथा उनका श्रीमान्ले प्रतिष्ठानमा सफल शल्यक्रिया तथा निःशुल्क उपचारको व्यवस्था गरिदिएकोमा सम्पूर्ण चिकित्सक, कर्मचारी तथा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन्। डिस्चार्ज भएको दुई महिना पछि फलोअपका क्रममा बायोप्सी रिपोर्टअनुसार उक्त ट्युमर क्यान्सर हुन सक्ने अवस्थाको मात्र रहेको पाइएको थियो। उपचारपछि श्रीमतीको स्वास्थ्य सुधार भएको देखेर उनका श्रीमान्ले प्रतिष्ठान तथा संलग्न चिकित्सकहरू प्रति धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानप्रति अझ बढी विश्वास बढेको बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार