काठमाडौँ । ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खानेपानी मन्त्रालयमा भएको आगलागी बारे अध्ययनको काम भइरहेको बताएका छन् ।
उनले आगलागीका बारेमा अनुसन्धान गर्नका लागि बिल्डिङको विद्युतीय वायरिङ चेकजाँच गर्न विद्युत् प्राधिकरणको प्राविधिक टिमलाई बोलाइएको जानकारी दिए ।
खानेपानी मन्त्रालयको अनुगमन गर्दै उनले अहिलेलाई इलेक्ट्रिक सर्ट भएर आगो लागेको कुरा आए पनि अनुसन्धानको लागि प्राधिकरणको टिमलाई बोलाएको बताए ।
उनले भने, ‘मन्त्री प्रदीप यादवको कार्यकक्ष भित्रको एउटा प्लगमा हिजोदेखि नै जलेको जस्तो गन्ध आइरहेको रहेछ, शङ्का लागेर खोलेर पनि हेर्नु भएको रहेछ । सोही आधारमा इलेक्ट्रिक सर्ट भएको हो कि भन्ने छ । प्राधिकरणको टिमलाई बोलाएका छौ । इन्भेस्टमेन्ट र पूरै बिल्डिङको वाई रिङ् चेक गर्ने भनेका छौ । यसमा थप कुरा सिसी क्यामेरा हेरेपछि थाहा होला । ठुलो क्षति हुन पाएन, नियन्त्रण भइसकेको छ ।’
यस्तै, उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए ।
तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । सिसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।
प्रतिक्रिया