कोशी अस्पतालमा उपचाररत २९ वर्षीय कैदीको मृत्यु

मंगलबार, २९ माघ २०८१
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ निवासी २९ वर्षीय बन्दी किसुन टुडु सतारको कोशी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। जिल्ला कारागार मोरङमा थुनामा रहेका उनलाई अचानक रिंगटा लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि माघ २६ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै उपचार भइरहेकै बेला मंगलबार दिउँसो १:४५ बजे उनको निधन भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए। किसुन टुडुलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतको फैसलाको प्रतीक्षामा रहेका उनको मृत्यु भएपछि शव कोशी अस्पतालमै राखिएको छ। परिवारका सदस्य सम्पर्कमा आएपछि शव जिम्मा लगाइने जेलर ढुंगेलले बताए। मोरङ कारागार ३५० जना क्षमताको भए पनि हाल त्यहाँ १,०८५ जना कैदीबन्दी राखिएको छ। यसमध्ये ९७ महिला, ९८४ पुरुष र ४ जना बालबालिका आश्रित छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार