कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्ने मात्रै होइन, गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहका लागि तयार पारिएको स्टेच अगाडि राखिएको टि–टेबल पनि खोस्टाबाट निर्मित फूल गुच्छाले सजाइएको थियो ।
फालेलुङमा रैथाने मकैका खोया र खोस्टाबाट निर्मित सामग्री प्रयोग गर्न थालिएको जानकारी पाएका मन्त्री पौडेलले मन्तव्यका क्रममा गाउँपालिकाको यो अभियानलाई खुलेरै प्रशंसा गरे ।
‘पछिल्लो समय विकास भन्ने बित्तिकै ठूल–ठूला भवन र पुर्वाधारलाई मात्रै बुझ्ने गरिन्छ, यो गलत हो । यहाँ निर्मित अस्पताल र प्रशासकीय भवनमा करोडौं खर्च भएको छ, त्यो पैसा सडकको स्तरबृत्तीमा लगानी गरेर भवन र भवन पनि स्थानीय सामग्री प्रयोग गर्न सकिन्थ्यो,त्यहॉ चाहिने फर्निचर पनि यहि‘का सामग्री प्रयोग मिल्थ्यो । अब बन्ने पूर्वाधार स्थानीयता र मौलिकता झल्किनुपर्छ,’ मन्त्री पौडेलले भने ।
फालेलुङकै उत्पादनले आफुलाइ स्वागत गर्दा हर्षित भएको उनको टिप्पणी थियो ।
फालेलुङमा अतिथि सत्कारका लागि आयातित व्याच र खदा प्रतिवन्ध लगाइएसँगै मकैका खोया र खोस्टाबाट सामग्री निर्माण गर्न तालिम नै चलाइएको थियो । ५ नम्बर वडामा सञ्चालित सामुदायिक होमस्टेले यी सामग्री निर्माण गर्दै आएको छ ।
स्थानीय शिल्पकुमार राईका अनुसार खोस्टाबाट फूल बनाउन रङ र ब्याडिङ तार बाहेक अरू सामग्री आवश्यक पर्दैन । कैँचीले काटेर चारकुना मिलाइएका खोस्टा नून पानीमा भिजाएर रङ लगाएपछि फूल बनाउन तयार हुन्छन् ।
यस्तै, मकैका खोयालाई साइज मिलाएर काटेपछि रङ भरेर डोरीमा उन्दा आकर्षक माला तयार हुन्छन् । यसरी खोया र खोस्टाबाट अतिथि सत्कारका सामाग्री निर्माण गर्दा सस्तो र सजिलो हुने बताइएको छ ।
प्रतिक्रिया