बडहराका स्थानीलाई सो साइडलाई फोहोर प्रशोधन केन्द्र बनाउने र त्यहाँका मानिसहरूलाई रोजगारीको प्रत्याभूति दिलाउने भन्ने आश्वासनसहित २०७२ मै खोलिएको थियो, उक्त साइड । तर, खोलिएको एक दशक बित्न लाग्दासमेत साइड अस्तव्यस्त नै रहेको छ ।
आफ्नो स्वास्थ्यको जोखिम मोलेर स्थानीयहरूले साइडका फोहोरलाई प्रशोधन गरिरहेका छन् ।
‘केन्द्र बनाउने आश्वासन दिएर बस्तीको छेउमा ल्याएर फोहोर फाल्ने ठाउँ बनाइयो । अहिले यहाँका स्थानीयको स्वास्थ्यमा समस्या आइरहेको छ ।’ स्थानीय गंगा चौधरी भन्छिन्, ‘जोखिम मोलेर स्थानीयहरू आफै सङ्कलन गर्न जानु परेको छ ।’
बस्तीबाट दुई सय मिटर पर मात्र फोहोर रहेको र त्यो फोहोर समेत अस्तव्यस्त रूपमा रहँदा त्यहाँ प्रशोधन केन्द्रको आवस्यक्ता रहेको सुन्दरहरैंचा ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउँछन् ।
‘स्थानीयको अवरोधकाबीच त्यहाँ फोहोर फाल्न थालिएको थियो । जुन तरिकाले त्यहाँ प्रशोधन केन्द्र बनाउने भनियो यतिका समय बन्न सकिरहेको छैन,’ श्रेष्ठले भने ।
आफू वडाध्यक्ष रहँदा धेरै निकायसँग फोहोर प्रशोधन केन्द्रका लागि अनुरोध गरेको उनी बताउँछन् । उनले भने, ‘प्रशोधन केन्द्र यहाँका मानिसको रोजगारीको लागि मात्रै नभएर फोहोरको व्यवस्थापन र वातावरणीय प्रदूषण रोक्नका लागि पनि आवश्यक छ ।’
प्रतिक्रिया