ग्रामथानमा एमाले–कांग्रेस जनप्रतिनिधि भन्छन्ः ‘अध्यक्षले माओवादी कार्यकर्ता लगाएर गाडी खोसे’

शनिबार, २४ फागुन २०८१
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझीविरुद्ध अन्य जनप्रतिनिधिहरु एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस र नेकपा(एमाले) बाट निर्वाचित जनप्रतिनिधिले अध्यक्ष एकलौटी एवं मनपरी रूपमा अघि बढ्न खोजेको आरोप लगाएका हुन् । माझी भने गत उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारु, वडाध्यक्षहरू सुरेशकुमार माझी, यादव खतिवडा, भेषनारायण चौधरी, वीरेन्द्र चौधरीलगायतका जनप्रतिनिधिले पत्रकार सम्मेलनमार्फत नै अध्यक्षको शैलीप्रति आपत्ति जनाएका हुन् । ‘जनप्रतिनिधिले प्रयोग गर्दै आएका सवारीसाधन माओवादी कार्यकर्ता र प्रहरी लगाएर जबरजस्ती घर, कार्यालय र बाटोबाटै खोसेर लैजाने काम भएको छ । गाउँ सभा तथा परिषद्बाटै पारित गरेर जनप्रतिनिधिले सवारीसाधनको सुविधा लिएका हौँ,’ ग्रामथान–१ का वडाध्यक्ष सुरेशकुमार माझी भन्छन्, ‘व्यक्तिगत स्वार्थ र एजेन्डामा जबरजस्ती सहमति गराउन खोज्दा हामीले मानेनौँ । त्यो रिस अरू जनप्रतिनिधिमाथि पोख्ने काम भइरहेको छ ।’ आफूलाई साथ नदिएपछि नमोनारायणले मङ्गलवार मात्रै उपाध्यक्ष गुणवती चौधरीसहितका जनप्रतिनिधिले चढ्दै आएको गाडी र मोटरसाइकल खोसेका थिए । वडाध्यक्ष सुरेशकुमार माझीको घरमै पुगेर उनले मोटरसाइकल कब्जामा लिए । अध्यक्षले माओवादी कार्यकर्ता लगाएर गुण्डागर्दी शैलीमा सवारीसाधन नियन्त्रणमा लिएको गुनासो जनप्रतिनिधिको रहेको छ । गाउँपालिका उपाध्यक्ष गुणावतीले ‘म अध्यक्ष र स्थानीय सरकार हुँ, पालिका मेरो हो’ भन्दै जे पनि गर्न सक्ने धम्की गाउँपालिका अध्यक्षले दिने गरेको बताइन् । कार्यपालिका बैठकमा धम्की दिने र बहुमतको कदर नगर्ने काम अध्यक्षले गरिरहेको उनको भनाइ छ । नमोनारायण यसअघि पनि माटो तस्करीको विवादमा मुछिएका थिए । माटो तस्करी रोक्न प्रहरीलाई पत्राचार गरेकै कारण उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरणसमेत सोधे । उपाध्यक्षसहितको टोलीले अनुगमन गर्दा माटो तस्करी भइरहेको देखेर रोक्नका लागि प्रहरीलाई पत्राचार गरिएको कर्मचारीहरू बताउँछन् । उपाध्यक्ष गुणावतीका अनुसार कार्यपालिकाको बैठकका निर्णयहरू कार्यपालिका सदस्यलाई ३ दिनभित्र दिनुपर्ने कानुनी व्यवस्थाको उल्लङ्घन अध्यक्षले गरिरहेका छन् । ‘अध्यक्षले जनप्रतिनिधि र लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई निरन्तर अपमान गर्ने गरिरहेका छन्,’ उनले भनिन् । अध्यक्ष माझी निर्वाचित भएर आएदेखि नै आफूनिकट व्यवसायीलाई लोहोन्द्रा खोला ठेक्का दिन खोजेका थिए । तर, गुणावती कार्यवाहक अध्यक्ष हुँदा नै उक्त खोला ३ करोड १५ लाखमा ठेक्का लागिसकेको र सम्झौता हुन मात्रै बाँकी रहेको अन्य जनप्रतिनिधिको भनाई छ । उपनिर्वाचनपछि ठेक्का सम्झौता गर्नुपर्नेमा त्यो हुन नसकेको उनीहरूको दाबी छ । लामो समयसम्म कार्यपालिका बैठक नबोलाएका अध्यक्षले अहिले आएर ‘ठेक्का बदर गरौँ’ भन्दै आफूनिकटलाई खोला जिम्मा लगाउन खोजिरहेको अरू जनप्रतिनिधिहरू बताउँछन् । खोलाको ठेक्काको विषयमा कुरा नमिलेपछि नै जनप्रतिनिधिबिच विवाद सुरु भएको हो । लामो समयसम्म बैठक नबोलाएर कार्यपालिकालाई अनिर्णयको बन्दी बनाएको जनप्रतिनिधिको गुनासो छ । ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडा गाउँपालिका अध्यक्षले मनोमानी गरिरहेको बताउँछन् । उनका अनुसार अध्यक्ष तानासाही बनेकाले गाउँपालिकामा समस्या सिर्जना भएको छ । ‘गाउँपालिकाको विकासका लागि हामी मिलेर जान तयार छौँ । तर, उहाँ मनपरी ढङ्गले अघि बढ्न खोज्नु हुन्छ । अवैधानिक काममा साथ दिन सकिँदैन,’ यादवले भने, ‘कार्यपालिका बैठकमा अरूलाई बोल्न नदिने, बोल्न खोज्दा बैठकबाटै निकाल्न खोज्नेजस्ता अराजक शैली अपनाइन्छ । त्यो गलत हर्कत रोकिनुपर्छ । अरू जनप्रतिनिधिमाथि गरिएको अपमान सहन सक्दैनौँ ।’ अध्यक्ष नमोनारायणले माघ ३० गते कार्यपालिका बैठक बोलाएर गणपूरक सङ्ख्या नपुगी विभिन्न निर्णय गरेका थिए । उक्त बैठक कानुनविपरित रहेको दाबी गर्दै गाउँपालिकाकी उपाध्यक्ष गुणवतिदेवी थारुसहित कार्यपालिकाका ८ जना सदस्यले फागुन ४ गते उच्च अदालत विराटनगरमा रिट दायर गरे । उच्चले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आफूले गरेको निर्णयविरुद्ध अदालतमा रिट परेपछि नमोनारायण उपाध्यक्षसहितका जनप्रतिनिधिसँग क्रुद्ध बनेका हुन् । अध्यक्ष नमोनारायणले भने आन्तरिक स्रोतले धान्न नसक्ने भएकाले जनप्रतिनिधिको गाडी फिर्ता लिएको बताएका छन् । पत्र नै पठाएर गाडी फिर्ता लिएको उनको भनाइ छ । माझीले आफू पनि सरकारी गाडी नचढ्ने बताए । ‘कर जनताले तिरेका हुन् । जनताको काम नगर्ने अनि सुविधा मात्रै लिन खोज्ने त भएन नि । आन्तरिक स्रोत जुटाउन काम नगर्नेले सुविधा लिन मिल्दैन । गाउँपालिकाले गरेको निर्णयविरुद्ध उच्च अदालत जाने काम भयो,’ नमोनारायण भन्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार