विराटनगर । उच्च अदालत विराटनगरले विराटनगरस्थित मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत सञ्चालनमा रहेको मानगढ खानेपानी आयोजनामा नेतृत्व चयनको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अदालतमा मुद्दा परेको थियो। न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले पुनः निर्वाचन गर्न आदेश जारी गरेको हो।
यसअघि, गत जेठ १९ गते उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। सो चुनावमा अध्यक्ष पदका लागि रामबहादुर घिमिरे र लालमणि भट्टराईबीच प्रतिस्पर्धा भएको थियो। दुवै उम्मेदवार नेकपा (एमाले) निकट रहेकाले पार्टीको मोरङ जिल्ला कमिटी समेत दुई धारमा विभाजित भएको थियो। सोही विवादकै कारण तत्कालीन महानगर अध्यक्ष सागर थापाको जिम्मेवारी खोसिएको थियो। हाल भने थापा एमाले मोरङको उपाध्यक्षमा निर्वाचित भइसकेका छन्।
खानेपानी आयोजनामा करिब ५ हजार ९ सय घरधुरी सदस्य छन्, तर मतदानका क्रममा सबै सदस्यले मत दिन नपाएको गुनासो आएको थियो। त्यसैलाई सम्बोधन गर्न जेठ २० गते पुनः मतदानको समय तोकिए पनि विवादका कारण प्रक्रिया अघि बढ्न सकेन।
मतदानको गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसहित तीनजनाले उच्च अदालतमा रिट दायर गरेका थिए।
अर्कोतर्फ, टंकप्रसाद खतिवडासहित तीनजनाले पुनः मतदान हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा हालेका थिए।
अन्तिम सुनुवाइपछि सोमबार उच्च अदालतले कट्टेल पक्षको रिट खारेज गर्दै खतिवडा पक्षको मागअनुसार नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ।
प्रतिक्रिया