धरान : धरान उपमहानगरपालिकामा बहुभाषिक विद्यालयको भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
धरान-१६ स्थित पूर्व नगरप्रमुख स्व. तारा सुब्बाको स्मृति पार्क नजिकै यो विद्यालय निर्माण भइरहेको हो। नगरप्रमुख हर्कराज राईको परिकल्पनामा २ करोड ६५ लाख ३५ हजार १८४ रुपैयाँ ४२ पैसाको लागतमा निर्माण भइरहेको उक्त भवन सबै भाषाभाषी समुदायका विद्यार्थीहरूका लागि शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले बनाइँदै छ।
नगरप्रमुख राईका अनुसार विद्यालय सञ्चालन भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ। उनले निर्माण कार्य जनताको करबाट भइरहेको भएकाले स्थानीय समुदायले संरचनाको संरक्षण र स्याहार गर्नुपर्ने धारणा व्यक्त गरे।
धरानका हरेक वडामा विशेष संरचना निर्माण गरी समग्र नगरको विकासमा टेवा पुर्याउने योजना रहेको उनले बताए।
उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठका अनुसार भवन दुईतले हुनेछ र यसको निर्माणमा सिसाको प्रयोग गरिएको छ। १२ मिटर गोलाइभित्र निर्माण भइरहेको यस भवनको ठेक्का गत वर्ष दीपादिल कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो। हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ, र आगामी डेढ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी उद्घाटन गरिने जानकारी श्रेष्ठले दिए।
धरान-१६ मा बहुभाषिक विद्यालय स्थापना गरी विभिन्न भाषा र लिपीको संरक्षण गर्ने निर्णय १३औं नगर सभाले पारित गरेको थियो। विद्यालय निर्माण भइरहेको क्षेत्रमै पार्क, स्वास्थ्य चौकी र प्रहरी चौकी समेत रहेकोले आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै गएको छ।
प्रतिक्रिया