मोरङमा स्कुल बसले बालिकालाई ठक्कर दियो, अस्पताल पुर्याउँदा मृत्यु

आइतबार, ०३ चैत्र २०८१
विराटनगर : मोरङमा स्कुल बसले ठक्कर दिँदा आइतबार साँझ बालिकाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले साइकलमा यात्रा गरिरहेकी बालिकालाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर सुनवर्षी–१ का राजकुमार परियारकी छोरी ९ वर्षीया सञ्जु परियारको मृत्यु भएको हो । केचनाबाट शुक्रवारेतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई साँझ ५ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन् । गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए । प्रहरीले बस र चालक मोरङको सुनवर्षी–१ शुक्रबारेका अन्दाजी ३६ वर्षीय राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै राई फरार बनेका थिए । खोजतलास गरेर उनलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार