काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।
थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३-४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो ।
थापाले २०८० सालमा नेपाली काँग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको ज्येष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।
प्रतिक्रिया