काठमाडौँ । संघीय संसदमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि मर्यादापालकबाट पछिल्लो समय अमर्यादित व्यवहार बढ्दै गरेका घटनाप्रति संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै समाजले संसदीय समिति र संसद् बैठकका समाचार संकलनका क्रममा मर्यादापालकबाट दैनिकजसो अवरोध बढ्दै जानु चिन्ताको विषय बनेको जनाएको छ ।
समाजका महासचिव विष्णु खड्काले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालिन न्याय सम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको मंगलबारको बैठकमा संसदीय मामिला पत्रकार समाजका कार्यसमिति सदस्य तथा रातोपाटी डटकम अनलाइनका पत्रकार शम्भु दंगाललाई समाचार संकलन गरिरहेको अवस्थामा मर्यादापालकबाट दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘उपसमितिले औपचारिक रुपमा बोलाएर सधैझैँ समाचार संकलन गरिरहेका बेला मर्यादापालकले ल्यापटपमा समाचार संकलन गर्न नपाइने माथिको आदेश भन्दै एक्कासी समिति कक्षबाट पाखुरा समातेर बाहिर निकालेको घटनाप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । संसद् र संसदीय समितिमा यस्ता घटना बारम्बार दोहोरिँदा समाचार संकलनमा अवरोध पुगेको छ ।’
Discussion about this post