विराटनगर । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ ।
झापाको दमक–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो ।
गत शुक्रबार गर्भपतन गराउन परिवारले अस्पताल भर्ना गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार उनको अत्यधिक रक्तश्राव भएको थियो ।
उक्त अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर बन्दै गएपछि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई अस्पतालले भनेको थियो ।
कमजोर आर्थिक अवस्थाका परिवारले उनलाई अन्यत्र लैजान सकेनन् । त्यसपछि सोही अस्पतालमा उपचार भइरहेको थियो ।
रक्तश्राव रोकेर बच्चा निकाल्न शल्यक्रिया गरिएको उल्लेख गर्दै डा. साहले रक्तश्राव नरोकिएको साथै महिलाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि रेफर गरिएको बताए ।
त्यसपछि परिवारले शनिबार मध्यराति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उपचारकै क्रममा आइतबार बिहान ३ः४० बजेतिर उनको मृत्यु भएको हो ।
महिलाको २२ देखि २४ हप्ताको गर्भ रहेको हुनसक्ने अस्पतालले उल्लेख गरेको छ ।
यसैबीच, चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन् । उनीहरुले लापर्बाही गर्नेमाथि कारबाही र परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।
अस्पतालमा आन्दोलन सुरु भएपछि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
Discussion about this post