इटहरी । इटहरी र आसपास क्षेत्रका बालबालिकामा आँखा पाक्ने समस्या बढिरहेका बेला इटहरीस्थित मोडर्न प्रिपरेटरी सेकेण्डरी बोर्डिङ स्कुलले बुधबार आँखा जाँच शिविर आयोजना गर्ने भएको छ ।
विद्यार्थी, अभिभावक र समुदायलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो ।
विराट आँखा अस्पताल विराटनगरसँग सहकार्यमा आँखा जाँच शिविरको आयोजना गरिएको विद्यालयका सहप्रधानाध्यापक रमेश निरौलाले बताए ।
शिविरबाट विद्यार्थीका साथै अभिभावक र परिवारका सदस्यहरु अनि समुदायका सदस्यहरु समेत लावान्वित हुने उनले बताए ।
शिविर बुधबार १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
शिविरमा निःशुल्क आँखा जाँच गरिनुका साथै औषधि र चस्मा समेत वितरण गरिने भएको छ । आँखाको समस्या भएकाहरुलाई उक्त शिविरमा आएर आँखा जाँच गराउन पनि विद्यालयले आग्रह गरेको छ ।
केही दिनयता विराटनगर, इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायत क्षेत्रमा आँखा पाक्ने समस्या देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनेको जनाएको छ ।
चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।
नेत्ररोग विशेषज्ञहरु पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरुको भनाइ छ ।
Discussion about this post