इलाम, असोज : संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले गरेको आन्दोलन आज पनि जारी छ । असोज १५ देखि सडक आन्दोलन सहित पेन डाउन गरेर आन्दोलनमा रहेका उनीहरु आजपनि उसैगरि आन्दोलनमा छन् ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।
इलामको देउमाई नगरपालिकाका कर्मचारीहरु पनि पेन डाउन गरेर आन्दोलनमा छन् । उनीहरुले कार्यालय परिसरमा धर्ना सहित आन्दोलन जारी राखेको सूचना अधिकारी गोविन्द बाँस्तोला (गोपाल) ले जानकारी दिए । उनका अनुसार सरकारले माग पुरा नहुन्जेल कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताइएको छ ।
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ । केन्द्रमा सङ्घर्ष समिति नै निर्माण गरेर आन्दोलन हुँदै आएको छ । राङ गाउँपालिकामा समेत कर्मचारीले आन्दोलन जारी राखेका छन् ।
गाउँपालिकाका कर्मचारी सुमन लावतीका अनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग रहेका छन् ।
उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तर प्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर्, लगायतका प्लेकार्ड बोकेर विरोध गरिरहेका छन् ।
इलाम नगरपालिकामा समेत आन्दोलन जारी छ ।
यहाँका कर्मचारीले समेत पेन डाउन सहित कार्यालय परिसरमा धर्नामा बसेर बिरोध गरिरहेका छन् ।
Discussion about this post