विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई बनाउन नेकपा (एमाले)ले समर्थन दिएको छ ।
नेपाली कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर कार्कीको मुख्यमन्त्री बन्ने इच्छामा प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले साथ दिएको हो । कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यसहित एमालेका सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ लागेका छन् ।
यता गठबन्धन दलका तर्फबाट पनि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वो मुख्यमन्त्रीको दावी गर्दै प्रदेश प्रमुखको कार्यालयतर्फ लागेका छन् ।
एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए । एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ लागेको भण्डारीको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो । गठबन्धनको बिहीबार काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने निर्णय लिएको थियो ।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा पार्टीभित्रै मतैक्य नभएपछि गठबन्धनबाट आङ्बोले अवसर पाएका थिए । तर, कांग्रेसकै संस्थापनइतरले एमालेको साथ लिएर मुख्यमन्त्रीमा दाबी गर्न लागेको हो । कांग्रेसको इतर पक्ष केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा थियो ।
आङ्बोले मुख्यमन्त्री पाउने भएपछि कोइराला पक्ष असन्तुष्ट बनेको थियो । कार्कीले आफ्नो पक्षका सांसदको हस्ताक्षर देखाएर नेकपा (एमाले)सँग छलफल गरेका थिए । कार्कीनिकट एक सांसद गठबन्धनको निर्णय मान्नुपर्छ भन्ने नभएको बताउँछन् । ‘संविधानले दिएको अधिकार प्रयोग गर्न खोजेका हौं । गठबन्धनको निर्णय मान्दैनौं,’ उनले भने, ‘संवैधानिक अधिकारको प्रयोग गर्ने छुट सांसदलाई छ । त्यहीअनुरूप निर्णय लिने हो ।’ उनले एमालेसँग सहकार्य गर्दै बहुमत पु¥याउन आवश्यक सांसद लिएर प्रदेश प्रमुखकोमा दाबी पेस गर्न हिँडेको बताए ।
कार्की पक्षले उनीसहित ८ जना सांसदको हस्ताक्षरसमेत जुटाएको छ । कार्कीलाई इतर समूहका सांसदहरु शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीता गुरुङले साथ दिएका छन् । गयानन्द मण्डलले भने हस्ताक्षर गर्न नमानेको बताइएको छ । कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोसीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको छ । जसका कारण एमालेसँग कांग्रेसको इतर समूह मिलेपछि केदार कार्कीलाई मुख्यमन्त्री बन्न सहज हुने भएको हो ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् ।
Discussion about this post