इलाम माघ / इलाम नगरपालिका १ साखेजुङमा रहेको झुत्रे ज्यामिरे सिँचाइ योजनाको काम सुरु भएको छ । स्वीज सरकारको सहयोग र सङ्घीय, प्रदेश, स्थानीय तहको साझेदारीमा (व्यवस्थित लगानी योजना) काम सुरु भएको हो ।
शुक्रवार इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो परियोजनाको शिलान्यास गरेका छन् । उनीसँगै इलाम नगरपालिकाका प्रवक्ता तथा इलाम चारका वडाध्यक्ष नुतनदेव दुलाल, इलाम नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष गायत्रीराम बस्नेत, वडा सदस्य मोहन गुरुङ, इलाम ३ का पूर्व वडाध्यक्ष तीर्थ गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो ।
शिलान्यास पछि बोल्दै इलाम नगरपालिकाका प्रमुख केदार थापाले नगरलाई समृद्ध बनाउन कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले यस परियोजनाले किसानको नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा थपिने बताए । नगरपालिकाले सक्ने कामहरू आफैँ गर्ने र नसक्ने योजनाहरू विभिन्न निकायसँग समन्वय गरेर विकास निर्माणका काम गर्ने उनको भनाई छ ।
त्यस्तै इलाम नगरपालिकाका प्रवक्ता दुलालले स्वीज सरकारसँगकै सहकार्यमा गएको वर्ष १६ वटा योजना सम्पन्न गरेको बताए । उनका अनुसार यस वर्ष समेत यो योजनासँग १० वटा योजना सञ्चालनमा रहेका छन् ।
सोही वडाका वडाध्यक्ष बस्नेतले वडालाई समृद्ध बनाउन कृषि पेसामा लागेका जनतालाई लक्षित विभिन्न कार्यक्रम ल्याएको बताए । उनले यो वडा कृषि क्षेत्रमा समृद्ध रहेको बताउँदै सिँचाइ योजनाले थप राहत मिल्ने बताए । विभिन्न समयमा किसान र कृषि समूहहरूलाई समेत विभिन्न सहयोग गर्दै आएको उनको भनाई छ ।
यस योजनाले ७१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । यसमा विपन्न परिवारका ३६ घरधुरीलाई राहत मिल्ने बताइएको छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारको २०।२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहने छ । यसमा स्वीज सरकारको ३० प्रतिशत लगानी रहेको छ ।
यो योजनाले कृषि क्षेत्रमा सिँचाइ सुविधा थपिने अपेक्षा रहेको स्थानीय मनबहादुर राई बताउँछन् । ६० वर्षका उनले हाल सम्म दुख गरेर खेती गर्ने गरेको भए पनि अब पानी रसाएर बाहिर जाने झन्झट हट्ने बताए । खेती बालीमा पानीको मात्र बढी हुने र उत्पादन बढ्ने उनको भनाई छ ।
स्वीज सरकारको साझेदारीमा नै जिल्लामा एक सय २२ वटा योजना सञ्चालनमा रहेको योजनाका इन्जिनियर हेमराज भट्टले बताए । उनका अनुसार यो योजना ९९ लाख८० हजार, छ सय ७५ रुपयामा सम्पन्न हुने बताए । उनका अनुसार झुत्रे खोलाको मुहानबाट थापा गाउँसम्म ३५ सय ९५ मिटर कुलो निर्माण हुने छ । जसमा एघार सय चालिस मिटरमा पक्की ढलान गरिने बताइएको छ ।
Discussion about this post