धरान । धरानको चर्चित तथा पुरानो फुटबल प्रतियोगिता गोधुली रनिङ कपको २४ औं संस्करण माघ १३ गते हुने भएको छ ।
शुक्रबार आयोजक गोधुली क्लबले पत्रकार सम्मेलन गर्दै ओझेलमा परेको प्रतिभाहरुलाई उपयुक्त अवसर प्रदान गर्ने प्रमुख उदेश्यका साथ धरानको वडास्तरीय प्रतियोगिता हुने क्लबका उपाध्यक्ष सतिस केसीले बताए ।
प्रतियोगितामा धरान उपमहानगरपालिकाका १८ टिमले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १ लाख ५० हजार र ७५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र रनिङ शिल्ड प्राप्त गर्ने क्लबको उपाध्यक्ष केसीले बताए ।
यसैगरी विधागततर्फ बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले ७ हजार ५ सय र बेस्ट डिफेन्डर, म्यान अफ द म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, वेस्ट स्ट्राइकर, राइजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा धरान– १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले विजेता र उपविजेता टिमलाई पुरस्कार राशिमा २५ हजार रुपैयाँ थप गरी दिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल १५ लाख १३ हजार ३ सय पैंसठी रुपैया खर्च हुने क्लबको अनुमान छ । यो प्रतियोगिता धरानमा हुने मोफसलको चर्चित प्रतियोगिताहरु मध्ये सबै भन्दा जेठो मानिन्छ । धरानमा प्रतिभावान खेलाडी उत्पादनमा गोधुली कपको महत्वपुर्ण योगदान रहेको खेल जानकारहरुको भनाई छ ।
Discussion about this post