पवित्र वाग्मती तटमा आराध्य देव श्री पशुपतिनाथको मन्दिर रहेको छ। प्रसिद्ध वाग्द्वारबाट प्रवाहमान भएकी वाग्मती नदी जब गुह्येश्वरी मन्दिर अगाडिपट्टि आइपुग्दा उत्तर दिशातर्फ मोडिन्छिन्, त्यहीँबाट पवित्र पाशुपत क्षेत्र आरम्भ हुन्छ।
त्यसै गरी पवित्र घाटको ब्रह्मनाल वाग्द्वारबाट आएकी वाग्मती गुह्येश्वरीबाट आएको जल र मूल शिवलिंगमा चढाइएको पञ्चामृत मिसिने हुनाले त्रिवेणी तीर्थको रूपमा सुपरिचित रहेको छ। घाटमध्ये जुनसुकै घाटमा मानवीय चोला विसर्जन गरे पनि त्रिवेणी तीर्थमा ब्रह्मनालमा लगी शवलाई स्नान गराउनुपर्ने शास्त्रीय एवं वैज्ञानिक विधि विधान रहेको हो।
आर्यघाट तीर्थमा भित्तामा भगवान्ले भृगश्वर भगवान्को लिंगस्वरूप मन्दिर विरूपाक्षको मन्दिर र श्रीयन्त्रको मन्दिर रहेको छ। यसभन्दा माथि मूल प्राङ्गणमा महाज्योतिलिंगस्वरूप देवाधिदेव श्री पशुपतिनाथको मन्दिर रहेको छ। श्री पशुपतिनाथको मूल मन्दिर प्राङ्गणमा श्रीगणेश, नारायण, श्री सूर्यनारायण, महामाया भगवती, श्री महात्रिपुरासुन्दरी र पाञ्चायन देवीदेवताका रूपमा समेत यसै प्राङ्गणमा रहेका छन्। यिनै पर्वहरूमध्ये श्री पशुपतिनाथमा महाशिवरात्रि पर्व विशेषतः उत्सवमय रूपमा मनाइन्छ। महाशिवरात्रि शिवको रात्रि हो।
यसै रात्रिको विशिष्ट महत्त्व भएकोले श्रद्धालु जन सबै यसै दिन प्राप्त भएका दर्शनलाई विशिष्ट मान्छन्। सबै शास्त्रहरूले महाशिवरात्रिको महŒवलाई विशेष रूपमा महिमा गान गरेका छन्। ब्रह्मा, विष्णु र महेश त्रिमूर्ति जगत् विभूति हुन्। महेश शिव हुन्। प्रलयकारी स्वरूप जब शिवमा देखिन्छ तब रौद्र रूप हुन्छ। संसारलाई रुवाउने रुद्रको रूप भएका देवता रुद्र हुन्। शिव र रुद्र एकै रूप हुन्। रुद्रले रौद्रताबाट संसार प्रक्रम चलाउनु भएको हुन्छ।
प्रकृतिमा पुराना झर्ने र नयाँ अंकुरण प्रारम्भ हुने ऋतु, शिशिर ऋतु हो। वृक्षको पात झर्ने प्रक्रिया भगवान् शिवको रुद्र क्रियाको प्रभाव हो। जब पात झरेका रुखमा बीज पक्ष, सृष्टि पक्ष प्रारम्भ हुन्छ त्यहाँ शिव क्रिया प्रारम्भ हुन्छ। यी दुवै क्रियाहरू प्रकृतिमै प्रस्ट देखिने ऋतु शिशिर ऋतुमा महाशिवरात्रि पर्व पर्दछ।
शिवरात्रि त्रयोदशीका रात्रिदेखि चतुर्दशीको रात्रिपर्यन्त मनाइन्छ। शिवरात्रि आमावश्या तिथिमा मनाइँदैन। आमावश्या तिथिमा चन्द्रमाको कला क्षीण भएको हुन्छ। क्षीण कलाले कुनै पनि आस र त्रास जमाउन सक्दैन। जब कलाक्षीण हुने समय हुन्छ त्यो त्रयोदशी तिथिदेखि चतुर्दशी तिथिपर्यन्त हो। त्यसैले यही समय महाशिवरात्रिको रूपमा शिवलाई प्रिय हुन्छ। मानिसको जीवनकला पनि एक दिन समाप्त हुन्छ।
अन्तिम क्षणमा केही कला बाँकी रहन्छ। जीवनको अन्तिम कलाको समयमा औषधिको रूपमा प्रार्थना नै उत्तम हो। त्यसैले उत्तम प्रार्थना जीवनकला केही बाँकी रहँदै हुने भएकोले प्रार्थना आवश्यक हुने हो। त्यस्तै गरी, कृष्णपक्षको केही कला बाँकी रहने समय त्रयोदशीदेखि हुने भएकोले सृष्टि स्थिति र प्रलयको उपक्रममा कला बाँकी रहँदै रात्रि उत्सव मनाइन्छ। शिवरात्रि पर्व पनि आमावश्याको सट्टा चतुर्दशीमा मनाइन्छ। चतुर्दशीमा चन्द्रमाको केही कला बाँकी नै रहने भएको कारण चतुर्दशीमा शिवरात्रि मनाइएको हो।
महाशिवरात्रि पर्व आधा रात्रिमा मनाइन्छ। संसार निद्रामा विलीन हुने समयमा गरिने शिवको आराधनाको कारण पनि छ। मानिसहरू निराशाको बाक्लो अन्धकार सबैतिर फैलिएपछि भगवान्को संहारशाली कलास्वरूपलाई हेर्न थाल्दछन्।
यस्तो कालो स्वरूप हेर्दा कतिपयको इहलीला पनि समापन हुन्छ। निराशाको चल क्षणमा देह त्याग गर्ने कुनै प्रकारको गलत भावना मनमा आएमा त्यो भावना त्यागेर महामृत्युञ्जय शिवको आराधना र पूजा गर्ने व्यवस्था शिवरात्रिको वैज्ञानिक एवं मनोवैज्ञानिक पक्ष हो।
भगवान् शिवलाई तमोगुणका अधिष्ठाता मानिन्छ। रात्रि तमोमय हुन्छ। रात्रि संहारकाको प्रतिरूप हो। दिनमा प्राणीहरूले गरेका दैनिक क्रियाकलाप रात्रिमा संहार हुन्छ। निद्राको कारण संसारको चेतन शक्तिको पनि संहार हुने भएकोले संहारकार्यका अधिपति शिवलाई नैसर्गिक रूपमा रात्रि प्यारो हुनु स्वाभाविक हो। कृष्णपक्ष क्षयोन्मुख हुन्छ। शुक्ल पक्ष उध्र्वन्मुख हुन्छ।
कृष्णपक्षमा चन्द्रमा क्षयोन्मुख हुन्छ। शुक्ल पक्षमा बर्धनोन्मुख हुन्छ। सोम अमृत हो। चन्द्रमाका किरणमा अमृत हुन्छ। चन्द्र किरण अभाव हुँदै जान्छ। हरेक जीवको अन्त करणमा तामसी वृत्ति जागरूक हुन थाल्दछ। त्यसै कारण रात्रिको समयमा नैतिक र सामाजिक अपराधहरू बढ्ने गर्छन्। त्यस्तो अपराध बढ्ने समयलाई नियन्त्रणमा राख्नु भुताधिपति शिवको कर्तव्य हो। महाशिवरात्रिको रात्रि त्यसै नियन्त्रणको लागि गरिने प्रतीकात्मक कार्य रात्रि हो। यो रात्रिमा तामसी शक्तिमाथि विजय पाएर सात्विकी शक्तिको उदय गराउने कामना गर्नुपर्दछ।भगवान्लाई भूतनाथ पनि भनिन्छ। भूतनाथको आराधना पूजा र ध्यान गर्न मृत्युञ्जयको आराधना गर्ने समय रात्रि हो।
ऋतु, महिना, पक्ष, तिथि, आधा रात र पूजा सामग्रीका आधारमा शिवरात्रि महोत्सव फाल्गुन कृष्ण चतुर्दशी हुनु औचित्यपूर्ण मानिएको छ। शिवरात्रिमा केही पनि नखाई निराहार व्रत बस्ने गरिन्छ। यसरी व्रत बस्नुको औचित्य आधिभौतिक शक्तिलाई दुर्बल बनाई आध्यात्मिक शक्तिको ऊर्जा शरीर, मन र हृदयमा स्थापित गर्नु हो। कृष्णपक्षको अन्तिम भाग चन्द्रकलाको समाप्तिको सूचक भएकोले पूर्वरूपमा कला समाप्ति नहुँदै ऊर्जा आह्वान गर्नुपर्ने हुँदा शिवरात्रि प्रतीकात्मक रूपमा संहारकला नसकाइन पुनर्जीवित गरेर जैविक प्रपञ्च सञ्चात्वा गर्नुपर्ने निर्देशन भएको विशिष्ट पर्व हो।
हाम्रा प्राचीन ऋषि मुनिहरूको सदुक्तिअनुसार पनि विषया ‘बिनिबर्तन्थे निहारास्य देहिनः’ भनिएको छ। व्रत र उपासनाको विधान गरेर आध्यात्मिक जागरणको मार्गदर्शन गरेमा विषय तृष्णामाथि मानिसले विजय हासिल गर्न सक्छ भन्ने स्पष्ट दिशा बोध शिवरात्रि पर्वको महŒवपूर्ण व्याख्याबाट पाइन्छ। शक्ति र शिवको संयुक्त स्वरूप अर्ध नारीश्वर भगवान् शङ्करको लीला अपरम्पार छ। यो लीलामा सबै कुराको समन्वय रहेको छ। गोरु र सिंह शिव र पार्वतीका वाहन हुन्। शिव दरबारमा गोरु र सिंह एउटै आँगनमा प्रेमपूर्वक बस्छन्।
मयूर र सर्प शत्रु भाव बिर्सेर समता कायम गर्दछन्। अनेकतामा एकता विषमयताभित्रको समता शिव परिवार हो। शिवको मुख्य स्वरूप पशुपतिनाथ हो। जहाँ महाज्योतिलिंग, वाग्मती तटमा षड्मुखी लिङ्गको रूपमा विराजमान छ।
महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख पर्व हो। यस्ता आदर्शमय देवाधिदेव महादेवका व्रत, उपासना, भजन, कीर्तन, गरी उपवास बसेर ब्राह्मणमा कल्याण तŒव जीवन्त गरिने पर्व महाशिवरात्रि पर्व कला जगाउने पर्व हो। आराधनाको माध्यमबाट संसार जगाउन महाशिवरात्रि पर्व वैदिक, तान्त्रिक एवं वैज्ञानिक रुद्रले जनजनका मनमनमा स्थापित पर्व हो।
डा. घनश्याम खतिवडा
खतिवडा, पशुपति क्षेत्र विकास कोषका निवर्तमान कार्यकारी निर्देशक हुन्।
Discussion about this post