इलाम : बेरोजगार युवाहरूलाई विराटनगर-इटहरी औद्योगिक क्षेत्रमा रोजगारी तथा उद्यमशीलताका अवसरहरूसँग जोड्ने गरी कोसी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुरु भएको स्टेप अप परियोजनाको श्रम संसार सूचना प्रणालीमा इलाम नगरपालिका आबद्ध भएको छ ।
परियोजनाले बेरोजगार युवा, विशेष गरी महिला, वैदेशिक रोजगारीबाट फर्किएका र कोभिड १९ को कारण बेरोजगार भएका व्यक्तिहरूलाई रोजगारी तथा उद्यमशीलताको माध्यमबाट आयस्तर वृद्धिमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
नेपालको संविधानले रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गरेको हुँदा सङ्घ, प्रदेश तथा स्थानीय तहको अधिकारको साझा सूचीअन्तर्गत रोजगार र बेरोजगारहरूको तथ्याङ्क सङ्कलन तथा प्रशोधन गर्न श्रम बजार सूचना प्रणालीको परिकल्पना श्रम संसारमा गरिएकोले यस प्रणालीमार्फत रोजगार प्राप्तिको हक सुनिश्चित गर्न गराउनमा सहजीकरण गरिने भएको हो ।
स्थानीय श्रम बजारमा रहेका रोजगारी र उद्यमशीलताका अवसरहरूको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको यस सूचना प्रणालीमा रोजगार खोजकर्ता, रोजगार सेवा प्रदायक, रोजगारदाता तथा श्रम बजारका अन्य सरोकारवाला निकायहरू समेत आबद्ध रहने हुँदा यसबाट श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने इलाम नगरपालिकाले जनाइएको छ ।
श्रम संसार, नेपाल सरकारकै मातहतमा रहेको सूचना प्रणाली भएकोले यसमा प्रविष्ट गरिएका तथ्याङ्कहरू सुरक्षित र भरपर्दो रहेको छ। एकै ठाउँबाट श्रम बजार सम्बन्धी सूचना प्रवाह हुने भएकोले रोजगार खोजकर्ता, रोजगारदाता, तालिम सेवा प्रदायक लगायत श्रम बजारसँग सम्बद्ध व्यक्ति तथा सङ्घसंस्थाका लागि उपयोगी हुने देखिएको छ ।
यस श्रम संसार सूचना प्रणालीको आवेदन प्रक्रिया तथा दर्ता निःशुल्क रहेको साथै श्रम संसार सम्बन्धमा थप जानकारी आवश्यक भएमा इलाम नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने र shramsansar.koshi.gov.np / shramsansar app समेत हेर्न सकिने इलाम नगरपालिकाका प्रमुख श्री केदार थापाले जानकारी दिए ।
Discussion about this post