इटहरी । इटहरी खानेपानी उपभोक्ता समितिको मत गणना सुरु भएको छ । शनिवार सम्पन्न निर्वाचनको मत गणना आइतबार दिउसो १२.५० बजेबाटखानेपानीको कार्यालयमा मत गणना सुरु भएको हो ।
बिहान ८ बजे बसेको सर्वपक्षीय बैठकबाट मतगणना गर्ने निर्णय भएको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए । शनिवार सम्पन्न निर्वाचनमा नौ हजार छ सय अठार जनाले मतदान गरेको भट्टराइले बताए । ३ दिन भित्र मतगणना सम्पन्न गरिने समेत उनले बताए ।
९ वर्ष पछि भएको खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा २० मध्ये १३ वटा वडाबाट १६५ पदका लागि २८० जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।
सुरुमा वडाबाट उपभोक्ता समितिको सदस्य निर्वाचित हुनुपर्ने र निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन हुने व्यवस्था छ ।
वडा नं १ र २० मा खुल्लातर्फ ७ जना, महिलातर्फ ४ जना, वडा नं ८ मा खुल्लातर्फ १० जना, महिलातर्फ ५ जना उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन् ।
यसै गरी वडा नं ९ र १० का महिला उम्मेदवारहरू क्रमशः ५ र ३ जना निर्विरोध चयन भइसकेका छन् ।
प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारण देखाउँदै ९ वर्ष सम्म स्थगित थियो ।
यो निर्वाचनसँगै खानेपानी इटहरीमा झन्डै दुई दशक नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईँले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई नेतृत्व गरेका थिए ।
Discussion about this post