धरान । बुढासुब्बा गोल्डकप प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म धरान रंगशालामा आयोजना गर्ने जानकारी आयोजक धरान फुटबल क्लबले दिएको छ ।
२०५५ सालदेखि निरन्तर हुदै आएको बुढासुब्बा गोल्डकप कोरोना संक्रमणका कारण विगत २ बर्ष यता भने हुन सकेको छैन । प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन क्लबले सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
क्लबका अध्यक्ष किशोर राईको अध्यक्षतामा पदाधिकारीहरु रहेको सचिवालय गठन गरिएको छ भने नविन राई संयोजक रहेको आर्थिक उपसमिति, प्रताप तामाङ संयोजक रहेको प्रचार–प्रसार उपसमिति, सुदिप उप्रेती संयोजक रहेको मैदान व्यवस्थापन उपसमिति र रोमी मोक्तान संयोजक रहेको आयोजक टिम तयारी उपसमिति गठन भएको छ ।
प्रतियोगितामा सहभागीताको लागि काठमाडौंका एक डिभिजन क्लबहरु, भारत र मोफसलका उत्कृष्ट क्लबहरुसँग सम्पर्क भइरहेको तर निर्णय हुन बाँकी रहेको पनि आयोजक क्लबले जनाएको छ । क्लबले अहिले प्रतियोगिताको प्रचार प्रसारकालागी धरान उपमहानगरपालिका, प्याब्सन–एनप्याब्सन, बैकर्स तथा सञ्चारकर्मीहरुसँग मैत्रीपूर्ण खेलहरु समेत खेलिरहेको छ ।
Discussion about this post