इटहरी । राष्ट्रिय गौरवको आयोजना ६ लेन सडक आयोजना भित्र पर्ने घरसंरचना हटाउन पुनः थालिएको छ । इटहरी उपमहानगरपालिले १५ दिने सार्वजनिक सूचना जारी गर्दै आफ्नै खर्चमा इटहरी मुख्य चौक दक्षिणका सडक सिमामा पर्ने घर संरचना हटाउन भनेको थियो । त्यस मध्ये अधिकाशं स्थानीयले अटेर गरेपछि आज (आइतबार) उपमहानगर प्रमुख हेमकर्ण पौडेल वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेल, सुरक्षाकर्मी सहितको टोलीले डोजर लगाएर घर हटाउन थालेको हो ।
मुख्य चौक दक्षिण ३३ वटा घर हटाउन बाँकी थियो । वडा नम्बर ९ मा पर्ने १४ वटा घर १५ दिन अघि नै भत्काइएको छ । वडा नम्बर ६ मा पर्ने धेरै घर स्थानीय आफैंले भत्काएका छन् । अन्य केही स्थानीयले अटेर गरेपछि बाध्य भएर हटाउन थालिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
उनले राष्ट्रिय गौरवको आयोजनामा पर्ने सबै संरचना हटाइने दाबी गरे । हामीले राष्ट्रिय गौरवलाई साथ दिनु पर्छ उनले भने ‘बाँकी जहाँ जहाँ समस्या देखिएका छन् ,सबै समाधान गर्छाै ।’ यहाँका स्थानीयले घरको मुआब्जा यस अघि नै पाईसकेका छन् । उनीहरुले जग्गाको पनि मुआब्जा पाउनु पर्ने माग गर्दै सर्वाेच्च र उच्च अदालतबाट अन्तरिम आदेश ल्याएका थिए ।
इटहरी उपमहानगरका जनप्रतिनिधिको सरोकारवालालाई राखेर समन्वयमा घर हटाउने निर्णय गरेको थियो । आयोजनाको मिति आगामी २०८० साल असारमा सकिदैंछ । मुख्यचौक देखि उत्तर अहिले ४० मिटर सडक विस्तार गरिएको छ । अझै दायाँवाँया ५/५ मिटर विस्तार परी सर्भिस लेन निर्माण गर्नु पर्ने छ । यदि ५/५ मिटर साली गराए १०४ वटा घर संरचना हटाउनु पर्छ ।
Discussion about this post