वराहक्षेत्र – बृहत्तर वराहक्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीहरूले बुधबार चतरा स्थित समितिको कार्यालयमा औपचारिक रुपमा पदभार ग्रहण गरेका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, वेलका नगरपालिकाका प्रमुख अशोक कार्की लगायत कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।
२०६६ सालमा नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने गरी स्थापना गरेको बृहत्तर वराहक्षेत्र विकास समिति अहिले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा पर्ने धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र विकास गर्ने उद्देश्यले यो समिति स्थापना गरिएको हो।
हालै सम्पन्न कोशी प्रदेश सरकारको ३९ औँ मन्त्रिपरिषद्को निर्णय अनुसार, समितिको अध्यक्षमा वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा बजार निवासी प्रकाश बस्नेत नियुक्त भएका छन्। त्यस्तै, कार्यकारी सदस्यहरूमा वराहक्षेत्र नगरपालिका वडा नं. २ का प्रह्लाद भट्टराई, बेलका नगरपालिका निवासी लक्ष्मीराज अधिकार र वराहक्षेत्र वडा नं. ६ निवासी टीका कुमारी श्रेष्ठ चयन भएका छन्।
समितिमा पदेन सदस्यहरूको रूपमा सम्बन्धित स्थानीय तहका प्रमुखहरू, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका सभापतिहरू र राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका पीठाधीश वा तिनले तोकेको प्रतिनिधिहरू रहनेछन्।
लेखापाल गौरी रायका अनुसार पदभार ग्रहणसँगै समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ। बैठकले भावी योजना, लक्ष्य र कार्ययोजना लगायतका विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरेको जानकारी पनि रायले दिए।
प्रतिक्रिया