विराटनगर । मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र विराटनगरमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगममा सोमबार बिहान ४ः३५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले ढाटबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए ।
मोटरसाइकल डीभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवको मृत्यु भएको लम्सालले बताए । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, पथरीशनिश्चरे नगरपालिका–२ स्वागत टोलमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ । पथरीशनिश्चरे–२ का ६७ वर्षीया दिलमान साम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पहिचान नखुलेको सवारीसाधनले आइतबार राति १० बजेतिर ठक्कर दिँदा साम्बा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
उपचारका क्रममा सोमबार बिहान ३ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साम्बालाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया