भोजपुरमा चक्कु प्रहार गरेर सासु, ससुरा, श्रीमती र सालोको हत्या, हत्या आरोपी पनि गम्भीर

आइतबार, २२ असार २०८२

इटहरी । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीस्थित एउटै घरभित्र चार जनाको विभत्स हत्या भएको छ। आइतबार राति राजेन्द्र राई नामका व्यक्तिले आफ्नै ससुरा, सासु, श्रीमती र सालोमाथि धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटनामा ६८ वर्षीय बेलबहादुर गिरी (ससुरा), ४५ वर्षीया मञ्जु गिरी (सासु), श्रीमती र सालोको ज्यान गएको हो। चारै जनाको शव घरको एउटै कोठाभित्र रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनालगत्तै आइतबार बिहानको राति १ः१५ बजेको समयमा राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरेर 'मान्छे मारेको छु, मलाई समात्न आउनु' भनेका थिए ।  

उक्त जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको टोलीले उनलाई रामप्रसादराई–१ हुर्बु भञ्ज्याङस्थित सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। उनलाई पेटमा  ३ ठाँउमा धारीलो हतियारले रोपिएको चोट रहेको अवस्थामा प्रहरीले फेला परेको थियो । 

उनको अवस्था गम्भीर भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक बयानमा उनले 'सासुले चक्कु प्रहार गरेपछि' आफूले प्रतिकारमा ससुरा, सासु, श्रीमती र सालोलाई चक्कु प्रहार गरेर मारेको स्वीकारेका छन्।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय घोडाटारबाट प्रहरी निरीक्षक अनिल साहको नेतृत्वमा ७ सदस्यीय टोली घटनास्थल पुगेको छ। घाइते राईलाई थप उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा पठाइएको छ।

प्रहरीका अनुसार घटना पारिवारिक विवादकै कारण भएको हुन सक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइएको छ। घटनाले स्थानीय क्षेत्र शोकाकुल भएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार