इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो १२:३० बजेतिर खोलामा पौडी खेलिरहेका बालकहरू डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
स्थानीयले इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेपछि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धार गरिएका बालकहरूलाई उपचारका लागि इटहरीस्थित सान्वी सिटी अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई दिउँसो ४ः२० बजेतिर मृत घोषित गरेका छन्।
मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) रहेका छन्। मुरा खोलाको दहमा डुबेका उनीहरूलाई प्रहरीले खोलाबाट निकालेको थियो।
शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय पकलीबाट करिब दुई किलोमिटर पूर्वदक्षिणमा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया