विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ पशुपति टोलमा शुक्रबार दिउँसो सवारी दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको थियो । दिउँसो करिब ४ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल, गंगाचोक लगिएको थियो ।
तर, अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया