बैतडी : बैतडीको मेलौली नगरपालिका–९ असुरका ४२ वर्षीय अर्जुनदत्त भट्टको मृत्यु रसिया–युक्रेन युद्धमा भएको पुष्टि भएपछि उनको परिवार शोकमा डुबेको छ। डेढ वर्षअघि रोजगारीको लागि पोल्यान्ड जाने भन्दै बिदा भएका अर्जुन पछि रुसी सेनामा भर्ती भएको खबरले परिवारलाई बेचैनी बढेको थियो।
२०८० असोज २६ मा टीकाटालो गरेर बिदा गरेका अर्जुनले सुरुवातमा परिवारलाई सेक्युरिटी कम्पनीमा काम गर्न पोल्यान्ड जाने बताएका थिए। तर केही दिनपछि फोनमार्फत आफू रुसी सेनामा भर्ती भएको जानकारी दिएपछि परिवारमा चिन्ता थपिएको थियो। सुरुमा नियमित सम्पर्कमा रहेका अर्जुनले पछि भने ‘वारमा युक्रेन जाँदैछु’ भन्दै सम्पर्क टुटाएका थिए।
लगातार १५ महिनासम्म सम्पर्कविहीन रहेका अर्जुनको मृत्यु २०८२ बैशाख २६ मा भएको पुष्टि परराष्ट्र मन्त्रालयमार्फत भएको हो। त्यसपछि शनिबार परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। अर्जुनका श्रीमती र १५ वर्षीय छोरा छन्। छोरा आर्मी स्कुल तेघरीमा कक्षा ९ मा पढ्दैछन्।
अर्जुन नेपाली सेनाका पूर्वसैनिक थिए। संकटकालमा माओवादीसंगको युद्धमा सहभागी रहेका उनी ५ वर्षअघि सेनाबाट अवकाश प्राप्त गरेर घरमै थिए। शान्ति मिसनअन्तर्गत विदेशमा पनि कार्यानुभव बटुलेका अर्जुन अन्ततः परदेशी भूमिमा युद्धमै ढले।
मेलौली नगरपालिका अहिले सोकाकुल छ। अर्का स्थानीय मनोज भाट पनि रुसी सेनामा भर्ती रहेको र हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। सरकारसंग उनको अवस्थाबारे आधिकारिक जानकारी माग गरिएको छ।
यो घटनाले नेपाली युवाहरु रोजगारीको आशामा कसरी जोखिमपूर्ण निर्णय गर्न बाध्य छन् भन्ने पीडादायी यथार्थ उजागर गरेको छ।
प्रतिक्रिया