गाजामा इजरायली हवाई आक्रमणमा ८० जनाको मृत्यु

विहीबार, ०१ जेठ २०८२

काठमाडौं : गाजामा इजरायली सेनाले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ८० जनाको ज्यान गएको छ।

उत्तरपश्चिम गाजाको जबालिया क्षेत्रमा भएको हमलामा इन्डोनेसियाली अस्पतालका अनुसार ५० जनाको मृत्यु भएको छ, जसमा २२ बालबालिका र १५ महिला रहेका छन्। त्यस्तै, नजिकैको अल-अव्दा अस्पतालले थप ९ जनाको शव प्राप्त गरेको जनाएको छ, जसमध्ये ७ बालबालिका छन्।

इजरायली सेनाले हमास र प्यालेस्टिनी इस्लामिक जिहादका लडाकुहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

मंगलबारदेखि इजरायलतर्फ रकेट आक्रमण बढेपछि जबालिया र आसपासका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरिएको थियो।

यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न तत्काल कदम चाल्न सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार