साउदी अरबमा कम्पनी टाट पल्टिँदा ४६९ नेपाली कामविहीन

विहीबार, ०१ जेठ २०८२

साउदीअरब : साउदी अरबको जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेड टाट पल्टिने अवस्थामा पुगेपछि उक्त कम्पनीमा कार्यरत ४६९ नेपाली श्रमिक कामविहीन भएका छन्।

कम्पनीले नियमित रुपमा तलब–भत्ता नदिएको र काम पनि नदिएको गुनासो सहित प्रभावित श्रमिकहरूले रियादस्थित नेपाली दूतावाससँग पहल गरिदिन अनुरोध गरेका छन्।

दूतावासले यस विषयमा साउदी सरकारको श्रम मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग निरन्तर कूटनीतिक पहल जारी राखेको जनाएको छ। नेपाल फर्कन चाहने श्रमिकहरूको लागि बहिर्गमन भिसा प्रक्रियाका लागि आवश्यक कागजातहरू सम्बन्धित श्रम कार्यालयमा पठाइसकिएको र भिसा प्रणालीमा भइरहेको प्राविधिक अद्यावधिकका कारण प्रक्रिया ढिलो भएको जानकारी दिएको छ।

१४ मे २०२५ मा साउदी श्रम मन्त्रालयसँग भएको छलफलमा दूतावासले सेन्दान इन्टरनेसनलका नेपाली श्रमिकहरूको समस्या शीघ्र समाधान गर्न माग गरेको थियो। श्रमिकहरूको सेवा सुविधा भुक्तानी, नेपाल फिर्ती तथा अन्य कम्पनीमा स्थानान्तरणजस्ता विषयमा सकारात्मक छलफल भएको दूतावासले जनाएको छ।

यसैबीच, दूतावासले आज प्रभावित नेपाली श्रमिकहरूसँग भर्चुअल बैठक गरी उनीहरूको व्यक्तिगत विवरण संकलन गरेको छ। विवरण प्राप्त भएपछि सम्बन्धित सेवा सुविधा प्राप्त गराउने र बहिर्गमन भिसाको प्रक्रिया छिटो सम्पन्न गराउने गरी थप पहल गरिने दूतावासले स्पष्ट पारेको छ।

खाना,आवास वा स्वास्थ्यसम्बन्धी समस्या परेमा श्रमिकहरूले दूतावासका तृतीय सचिव दिनेश प्रसाद शिवाकोटीलाई मोमाइन नं. ०५५८९००३३९ मा सम्पर्क गर्न सक्ने जानकारी पनि दूतावासले दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार