काठमाडौँ : अमेरिकाको फ्लोरिडा राज्यमा ‘क्रस कन्ट्री किलर’ उपनामले कुख्यात भएका ६२ वर्षीय ग्लेन रोजर्सलाई श्रृङ्खलाबद्ध हत्याका आरोपमा बिहीबार साँझ घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ।
सन् १९९५ नोभेम्बरमा फ्लोरिडाकै एक होटलमा दुई सन्तानकी आमा ३४ वर्षीया टिना मेरी क्रिब्सको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको हो।
क्रिब्सको शव होटलको बाथटबमा फेला परेको थियो। सोही वर्ष रोजर्सलाई क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्या अभियोगमा पनि दोषी पाइयो। साथै, उनी मिसिसिपी र लुइसियानामा दुई अन्य महिलाको हत्या अभियोगमा पनि शंका गरिएका थिए।
अमेरिकामा सन् २०२५ मा हालसम्म १५ जनालाई मृत्युदण्ड दिइएको छ, जसमा ११ जनालाई घातक सुई, दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको हो।
अहिलेसम्म अमेरिकाका ५० मध्ये २३ राज्यमा मृत्युदण्डको सजाय समाप्त भइसकेको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको कानुनी व्यवस्था कायम भए तापनि व्यावहारिक रूपमा रोकिएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डका पक्षधर रहँदै ‘घृणित अपराध’का लागि यसको प्रयोग बढाउन आह्वान गर्दै आएका थिए।
प्रतिक्रिया